वीरगन्जमा निषेधाज्ञा एक साता थपियो, यी सेवा बन्द रहने



वीरगन्जः वीरगन्जमा जारी निषेधाज्ञालाई भदौ ३१ सम्म निरन्तरता दिने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा आज (बिहीबार) बसेको जिल्ला सुरक्षा समिति बैठकले भदै २५ गते मध्यरातसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र जारी निषेधाज्ञालाई भदौ ३१ गते मध्यरात सम्म निरन्तरता दिने निर्णय गरेको हो ।

सुरक्षा समितिले साउन १० देखि महानगरपालिका क्षेत्रभित्र तथा साउन १९ देखि पर्सा जिल्ला भरी लागु हुने गरी निषेधाज्ञाको निर्णय गरेको थियो । भदौ १३ यता महानगरक्षेत्रभित्र मात्र निषेधाज्ञा लागू गरिएको छ ।

निषेधाज्ञाकै क्रममा भदौ १९ देखि बजार तथा पसल आलोपालो खोल्ने व्यवस्था स्थानीय सुरक्षा समितिले गरेको थियो तर, भदौ २६ देखि शनिबारबाहेक प्रत्येक दिन दिउँसो ११ बजेदेखि ४ बजेसम्म पसल सञ्चालन गर्न पाइने अधिकारीले जनाए ।

तरकारी तथा फलफूलको हकमा रेल्वे रोडमा घन्टाघर चोकदेखि २ सय मिटर स्कुलदेखि दक्षिणतर्फ एकतर्फी रुपमा मात्र पसलहरु राख्ने र दुई पसल बीचको दुरी न्युनतम १५ फिट राख्नुपर्ने छ । उक्त सडक खण्डमा तोकिएको अवधिभरी कुनै पनि मालवाहक, यात्रुवाहक सवारी साधन सञ्चालन गर्न पाइने छैन । तेकिएको समय र स्थानबाहेक अन्य समय वा स्थानमा कुनै पनि प्रकारले पसल खोलेको, सामान बेचेको वा भिडभाड गरेको पाइएमा तत्काल कानुनबमोजिम कारवाही गरिने प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आ-आफ्नो पसलमा आउने ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्ने र भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य तथा सुरक्षाको मापदण्ड उल्लंघन भएको पाइएमा सम्बन्धित व्यवसायीलाई कारबाही गरिने निर्णय भएको छ ।

त्यस्तै, जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरु सञ्चालन गर्न पाइने छैन । कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, चारजना भन्दा बढी व्यक्तिहरु एक ठाउँमा जम्मा हुन नपाइने विज्ञप्तिमा जनाइएको छ ।

परमपरागत रुपमा भई आएको दैनिक रुपमा आन्तरिक नित्यपुजा बाहेकका सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधिहरु, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षा लगायतको गतिविधिहरु हालका लागि बन्द रहेन छन् । डिपार्टमेन्टल स्टोर, मनोरन्जन स्थल, शैलुन, व्युटिपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिया पसल, खाजाघर, होटेल, रेस्टुराँ आदि बन्द रहने सुरक्षा समितिले जनाएको छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्