गाईमा भाइरस सङ्क्रमण: ‘रोग नियन्त्रणका प्रयास गर्नै सकिएन’



काठमाडाैं : गएको असार महिनादेखि गाईमा शुरू भएको भाइरल सङ्क्रमण साउन महिनाको ११ गते मात्र आरटी पीसीआर प्रविधिबाट पहिचान भएको विभागका महानिर्देशक डा. वंशी शर्माले बताए।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण लागि गरिएको निषेधाज्ञालगायत अवरोधले विभागलाई गाईको उक्त रोग नियन्त्रणका लागि बाधा पुर्‍याइरहेको शर्माले बताए।

पशु चिकित्सकहरूले उक्त नयाँ रोगले नेपालका चौपायाका लागि चुनौती थपिदिएको बताएका छन्। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अहिले भारतसँग जोडिएका सबै नाका बन्द छन्।

बन्दका बेला कसरी आयो यो रोग ?

चौपाया भारतबाट नेपाल ल्याउन तथा नेपालबाट भारत लैजान पाइएको छैन। यही बेला नेपालमा नयाँ प्रकारको भाइरल रोग गाईमा कसरी देखियो भन्ने कुरा आश्चर्यमा पारेको पशु सेवा विभागका अधिकारीहरू बताउँछन्।

पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले लकडाउनकै समयमा गाईमा भाइरल रोगको प्रकोप बढेको बताए।

उनले भने, ‘अहिलेसम्मको आकलनमा लकडाउनकै बेलामा यो रोग नेपाल आएको हो। तर यस्तो कडा बन्दमा यो रोग कसरी आयो भन्ने कुराले आश्चर्यमा पारेको छ।’

तर अहिलेसम्मको अध्ययनले यो रोग भारतबाट नै नेपाल आएको महानिर्देशक शर्माले बताए। उनले भने, ‘अहिलेसम्मको अध्ययनले बाङ्लादेशबाट भारत हुँदै यो रोग नेपाल आएको हो।’

‘मृत्युदर कम छ’

नेपालमा अहिलेसम्म ३० हजारदेखि ४० हजार गाईमा यो रोग देखिएको पशु सेवा विभागको अनुमान छ। तर देशका धेरै स्थानमा जारी गरिएको निषेधाज्ञाका कारण एकीकृत तथ्याङ्क लिन गाह्रो भइरहेको विभागका अधिकारीहरू बताउँछन्।

पशु सेवा विभागका महानिर्देशक शर्माले प्रदेश नं १ यो भाइरल रोगबाट बढी प्रभावित भएको जानकारी दिए। उनले अहिलेको अनुमानमा सङ्क्रमित गाईमध्ये १ प्रतिशत भन्दा कम गाईको मृत्यु हुने गरेको बताए।

शर्माले भने, ‘जति मृत्यु भएको भन्ने खबरहरू आएका छन् त्यस्को अनुमान लगाउँदा १ प्रतिशत भन्दा कम हुन जान्छ।’ अन्य मुलुकहरूमा ‘लम्पी स्किन डिजिज’ भनेर नामाकरण गरिएको उक्त रोगबाट करिब १० प्रतिशत गाईको मृत्यु हुने भनेर भनिएको भए पनि नेपालमा भने मृत्युदर कम भएको शर्माले बताए।

भारतसँग जोडिएका अधिकांश क्षेत्रमा सङ्क्रमण

गाईको शरीरमा घाउ हुने, खुट्टा सुनिने तथा उच्च ज्वरो आएर उठ्नै नसक्ने बनाउने नयाँ भाइरल रोग भारतसँग जोडिएका अधिकांश जिल्लामा देखिएको पशु रोग चिकित्सकहरूले बताएका छन्।

प्रदेश नं १ का झापा, मोरङ तथा सुनसरी, प्रदेश नं २ का सप्तरी तथा सिराहा, प्रदेश नं ५ का दाङलगायत क्षेत्र तथा गण्डकी प्रदेशको पोखरालगायत स्थानमा पनि यो रोग देखिएको विभागका महानिर्देशक शर्माले जानकारी दिए।

यो रोग पहिला झापा, मोरङ तथा सुनसरीमा देखिएको पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ। प्रयोगशालाका प्रमुख डा. सञ्जय यादवले नेपालमा लकडाउन शुरू हुनुभन्दा अगाडि कतै यो रोग देखिएको तर थाहा नभएको हुनसक्ने बताए।

गाई

उनले भने, ‘विभिन्न पशु हाट हुँदै यो रोग गाउँ पसेको अनुमान गर्न सकिन्छ। तर हामी अझै पनि अन्यौलमा छौँ। राम्ररी ट्र्याकिङ गर्न सकिरहेका छैनौँ।’

अहिले उक्त रोगले धेरै सङ्क्रामक अवस्था लिइसकेको उनले बताए। उनले भने, ‘रोग सङ्क्रामक छ तर आक्रामक हुने क्रम चाहिँ विस्तारै घटिरहेको छ।’

कसरी उपचार गरिँदैछ ?

झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं १ की किसान यसोदा रिजालले पालेको गाईको शरीरभर घाउ भयो। उच्च ज्वरो आएपछि उनले पशु चिकित्सक बोलाएर उपचार गराइन्। रिजालले भनिन्, ‘डाक्टर आएर करिब चारवटा सुई लगाएदिएपछि गाई उठ्यो।’ तर पनि गाईका शरीरका घाउ निको भएको छैन।

पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा. यादवका अनुसार रोगको सङ्क्रमण देखिएपछि लक्षणका आधारमा ‘एन्टिवायोटिक’ दिने गरिएको छ। उनले भने, ‘ज्वरो आए घटाउने औषधि दिने हो। घाउमा झिँगा वा लामखुट्टे बस्न नदिनका लागि शरीरका घाउमा औषधि लगाइदिने हो।’

उनले एउटा सङ्क्रमण भएको गाईबाट अर्को स्वस्थ गाईमा त्यस्ता झिँगा वा लामखुट्टेले टोकेर सार्ने भएकाले झिँगा वा लामखुट्टे बस्न नदिनु उत्तम विकल्प भएको बताए। तर कतिपय गर्भिणी गाईले बाछा तुहाएको पनि किसानहरूले बताएका छन्। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्