निषेधाज्ञाको आर्थिक प्रभाव : १९ अर्ब लगानी, १२ अर्ब निक्षेप



काठमाडौँ : कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै सरकारले राजधानीमा गरेको निषेधाज्ञाको तीन साता अवधिमा कर्जा लगानी सुस्त देखिएको छ । सो अवधिमा निक्षेप पनि झनै सुस्त देखिएको छ ।

गत भदौ ३ देखि २४ सम्म भएको निषेधाज्ञाका समयमा सीमित रूपमा शाखा खोलेका वाणिज्य बैङ्कले १९ अर्ब रुपियाँ कर्जा लगानी गरेको नेपाल बैङ्कर्स सङ्घले जनाएको छ ।

अहिले बैङ्किङ प्रणालीमा करिब दुई खर्ब रुपियाँको हाराहारीमा तरलता भए तापनि बैङ्कहरूले कर्जा लगानी बढाउन नसक्दा कर्जाका लागि बैङ्कहरूमा ग्राहकको तानातानको अवस्था छ ।

यद्यपि बैङ्क तथा वित्तीय संस्थामा बढ्दो तरलताका कारण कर्जा तान्न अस्वस्थ प्रतिस्पर्धा नगर्न राष्ट्र बैङ्कले पनि आग्रह गर्दै आएको छ । मुलुकमा कोरोना कहरले गर्दा नयाँ कर्जा लगानी बढ्न नसकेपछि बैङ्कहरूमा कर्जा तानातान गर्ने अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अहिले बैङ्कहरूले आधार दरभन्दा कममा नै कर्जा लगानी गर्न थालेपछि झनै जोखिम बढाउने भन्दै यस्तो प्रतिस्पर्धा रोक्न बैङ्कहरूसँग आग्रह पनि गर्नुभएको थियो ।

पछिल्लो समयको कर्जा लगानी बैङ्कहरूले साउन मसान्तसम्म गरेको कर्जा लगानीभन्दा कमी हो । बैङ्कहरूले साउन मसान्तसम्म २८ खर्ब ७८ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका थिए । बैङ्कर्स सङ्घका अनुसार भदौ १९ सम्म बैङ्कहरूको कर्जा प्रवाह १९ अर्ब रुपियाँले बढेर २८ खर्ब ९७ अर्ब रुपियाँ पुगेको छ । भदौको पहिलो सातामा बैङ्कहरूले २८ खर्ब ८६ अर्ब, दोस्रो सातामा २८ खर्ब ९२ अर्ब र तेस्रो सातामा २८ खर्ब ९७ अर्ब रुपियाँ कर्जा प्रवाह पुगेको थियो ।

बैङ्कहरूमा कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन भने घटेको छ । साउन मसान्तसम्म ३४ खर्ब ७९ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका बैङ्कहरूले भदौको १९ सम्म १२ अर्ब रुपियाँले मात्रै बढाएर ३४ खर्ब ९१ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् ।

भदौको पहिलो सातामा बैङ्कहरूले ३४ खर्ब ८० अर्ब, दोस्रो सातामा ३४ खर्ब ८५ अर्ब र तेस्रो सातामा ३४ खर्ब ९१ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका हुन् ।

गत वर्ष बैङ्कहरूले भदौ महिनामा ४७ अर्ब रुपियाँ कर्जा लगानी गरेका थिए । यस वर्ष बैङ्कहरूसँग प्रशस्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुँदा कर्जा लगानी बढाउन सकेका छैनन् ।

बैङ्कहरूले न्यूनतम एकल ब्याजदरमै घर जग्गा, सवारी कर्जाजस्ता योजना सार्वजनिक गरे पनि सोचेजति कर्जा प्रवाह भने हुन सकेको छैन । पछिल्लो समय घर कर्जामा विशेष जोड दिँदै आएका बैङ्कहरूले आफ्ना योजनाअनुरूप ग्राहक पाउन सकेका छैनन् ।

अब बैङ्क तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने ब्याज दर मासिक रूपमा मात्र परिवर्तन गर्न नपाउने भएका छन् भने यस्तो ब्याज दर परिवर्तन गर्दा आगामी महिनाका लागि निक्षेपमा लागू हुने ब्याज दरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनुपूर्व प्रकाशित गरिसक्नुपर्ने व्यवस्था राष्ट्र बैङ्कको निर्देशन छ ।

बैङ्क तथा वित्तीय संस्थाले कर्जा र निक्षेपको ब्याज दर, आधार दर र ब्याज दर अन्तरको विगत तीन वर्ष अवधिको विवरण वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था गर्नसमेत निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैङ्कका अनुसार पछिल्लो समय कर्जा स्रोत परिचालन अनुपात ७२ प्रतिशत रहनुले लगानीका लागि पर्याप्त साधन उपलब्ध भएको तथा बैङ्किङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात १५ प्रतिशत र खराब कर्जा अनुपात १.८ प्रतिशत रहेका कारण वित्तीय क्षेत्रमा स्थायित्व कायम रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्