कैलालीका सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीलाई सास्ती 



कैलाली : कैलालीका सरकारी कार्यालयका कर्मचारी नहुँदा सेवा ग्राहीलाई सास्ती भएको छ । दशैँ विदा भन्दै निस्किएका सरकारी कर्मचारी दशैं सकिए पनि कार्यालयमा नफर्किएपछि सेवाग्राहीको बढी चाप हुने कार्यालय अस्तव्यस्त बनेका छन् ।  

 

सुदुरपश्चिम प्रदेशको राजधानी सहर धनगढीका विभिन्न सरकारी कार्यालयमा कर्मचारी अझैं काममा फर्किएका छैनन् । धनगढी उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कैलाली, मालपोत कार्यालय, नापी कार्यालय लगाएतका प्रदेश तहका विभिन्न मन्त्रालयका कर्मचारी कार्यालयमा छैनन् । 

 

 धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित १६ जना कर्मचारी कार्यालयमा छैनन् भने त्यस्तै मालपोत कार्यालयका कार्यालय प्रमुख नै कार्यालयमा छैनन् । धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले विदामा गएका कर्मचारी आउने क्रम जारी रहेको बताए । कर्मचारी नभएका बेला पनि सेवाग्राहीले समस्या नपाउन भनेर कार्य व्यवस्थापन गरिएको उनले बताए । 

 

मालपोत कार्यालय कैलालीका ६ जना कर्मचारी अझैं फर्किएका छैनन् ।  कार्यालयका प्रमुख मालपोत अधिकृत ठाकुर प्रसाद सिग्देलले कर्मचारी नफर्किदा कार्य सम्पादनमा जटिलता देखिए पनि जसोतसो व्यवस्थापन गरिरहेको बताए । नापी कार्यालयका पनि चारजना कर्मचारी अझैं फर्किएका छैनन् ।

 

जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा कर्मचारी अभाव भएका वेला कर्मचारीकै मनपरी तथा गतिलो व्यवस्थापन नभएकै कारण सेवाग्राहीले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्