तिलोत्तमामा शहरी स्वास्थ्य केन्द्र भवन



रुपन्देही : तिलोत्तमा नगरपालिकाको शहरी स्वास्थ्य केन्द्र भवनको आज उद्घाटन गरिएको छ भने अर्को स्वास्थ्यचौकी भवन शिलान्यास गरिएको छ । शहरी स्वास्थ्य केन्द्र भलबारीको भवन उद्घाटन र करहिया स्वास्थ्यचौकी भवन शिलान्यास गरिएको हो ।

शहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा नं ८ को ज्योतिनगरमा निर्माण हुन थालेको छ । हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्यचौकी नभएका वडामा शहरी स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको छ । हालसम्म तिलोत्तमाका दश वडामा सरकारी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । बाँकी वडामा भवन निर्माण हुने प्रक्रियामा छन् ।

जग्गाको स्वामित्व नहुँदा करहिया स्वास्थ्यचौकीको लामो समयदेखि आफ्नै भवन निर्माण हुन सकेको थिएन । ज्योतिनगरमा झण्डै ६ कठ्ठा जमिनको स्वामित्व चौकीको नाममा आएपछि आफ्नै सुविधा सम्पन्न भवन निर्माण थालिएको हो । चालू आर्थिक वर्षभित्र भवनको निर्माणकार्य सकिने नगरपालिकाले जनाएको छ । भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले आफ्नै भवनबाट प्रवाह गरिने स्वास्थ्यसेवा प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्