काठमाडौं : अहिले शव व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम नेपाली सेनाले गर्दै आएको छ तर शव कुन ठाउँमा लगेर व्यवस्थापन गरिन्छ भन्ने बारेमा भने मृतकका आफन्तलाई पनि प्रायः थाहा हुँदैन ।
कोरोना सङ्क्रमणका कारण १३ दिन अगाडि ज्यान गुमाएकी रुपन्देही तिलोत्तमाकी एक महिलाको शवको व्यवस्थापन कहाँ गरियो भन्ने बारेमा उनका परिवारलाई आजसम्म कुनै जानकारी छैन ।
परम्परा अनुसार काजकृया गर्ने प्रयोजनको लागि सदगत गरेको समयको बारेमा सोधखोज गरेपछि उनकी छोरीलाई जानकारी दिइयो सोही दिन राति साढे १० बजे मृतकको अन्त्येष्टी गरिएको थियो भनेर ।
बीबीसीसँग मृतककी छोरी भन्छिन्, “आमाको शव गाडेको ठाउँ कहाँ हो भनेर पटक-पटक सोध खोज गरियो तर कसैले पनि बताएनन् ।”
“आमा फर्कने कुरा हुँदैनथ्यो, हामी शव गाडेको ठाउँमा जाने कुरा पनि हुने थिएन,” उनी भन्छिन्, “तर ठाउँ थाहा पाए पनि त मन शान्ति हुने थियो ।”
त्यस्तै गत सोमबार मात्र ज्यान गुमाएका कपिलवस्तुका एक सङ्क्रमितको दाहसंस्कार उनका छोराहरूले गरे ।
नेपाली सेनाले अन्त्येष्टी गर्ने तयारी गर्दागर्दै स्थानीय बासिन्दाले परम्परा अनुसार अन्त्येष्टी गर्न पाउनुपर्छ भन्ने माग गरेपछि विवाद चर्कने अवस्था आयो ।
पछि छोराहरूकै हातबाट दागबत्ती दिने सहमति भयो र छोराहरूले नै दागबत्ती दिए । मृतकका दुवै छोरा कोरोनाभाइरस सङ्क्रमित हुन् ।
कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका बाबुलाई सङ्क्रमित छोराहरूले नै दाहसंस्कार गरेका यस्ता घटना बिरलै सुनिन्छन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मृतकलाई अस्पतालबाट बाहिर ननिकाल्दा सम्मको सबै काम स्वास्थ्यकर्मीले गर्ने र त्यसपछिका अरू व्यवस्थापनको काम नेपाली सेनाले गर्ने गरेको बताउँछन् ।
उनी भन्छन्, “शव व्यवस्थापन एकान्त ठाउँमा गर्नुपर्ने एक प्रकारको बाध्यता पनि छ किनकी बस्ती नजिकै व्यवस्थापन गर्दा स्थानीय बासिन्दाले विरोध गर्ने गरेको अवस्था पनि छ ।”
विश्व स्वास्थ्य सङ्गठनको कार्यविधिमा मृतकका आफन्तहरूले शव हेर्न चाहेमा निश्चित दूरी कायम गरेर पालैपालो हेर्न सकिने उल्लेख गरिएको छ ।
तर नेपालमा शव व्यवस्थापन गर्ने ठाउँबारे विवाद हुन थालेपछि शवको व्यवस्थापन प्रायः रातिको समय र अज्ञातस्थलमा गर्न थालिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का सूचना अधिकारी डा. पुष्पराज पौडेलले बीबीसीलाई बताए ।
उनी भन्छन्, “ठाउँ थाहा दिने हो भने त्यस ठाउँमा मानिसहरू विरोधमा उत्रने सक्ने अवस्था देखियो त्यसैले मृतकका शव दिनभरी अस्पतालमा राख्ने गरिएको हो । रात परेपछि सेनाले व्यवस्थापन गर्दै आएको छ ।”
अहिले शवहरूको व्यवस्थापन सम्बन्धित स्थानीय तहले तोकेको स्थानमा गरिँदै आएको छ ।
मृतकबाट हुन सक्ने सम्भावित सङ्क्रमणका कारण आफन्तलाई खोजेर दाहसंस्कारमा सहभागी गराउने अवस्था नभए पनि सहभागी हुन चाहनेहरू सुरक्षा सतर्कता अपनाएर सहभागी हुन सक्ने प्रदेश नं ५ का विपत् व्यवस्थापन अधिकारी बाबुराम पन्थी बताउँछन् ।
पन्थी भन्छन्, “हामी कार्यविधि अनुसार नै होस भन्ने चाहन्छौँ तर त्यसको लागि सुरक्षित मापदण्ड पनि अपनाउनु पर्यो । फेरि खबर गरेर दाहसंस्कारको लागि मान्छे जम्मा गर्ने अवस्था पनि त छैन ।
स्वास्थ्य अधिकारीहरूसँग कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएकाको शवहरूमध्ये कति गाडियो वा कति जलाइयो भन्ने बारेमा अहिलेसम्म कुनै अभिलेख छैन ।
स्वाब सङ्कलन गरिएको तर कोरोनाको रिपोर्ट नआउँदै मरेकाहरूका शव भने जलाइएका घटनाहरू पनि देखिँदै आएका छन्। रुपन्देहीमा यस्तै प्रकृतिका दुई घटनामा मलामी गएका अधिकांश मलामीहरूमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो ।
केही अपवाद बाहेक कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाएकाहरूको शवको व्यवस्थापन गर्दा परिवारलाई सहभागी गराएको पाइएको छैन ।
प्रकाशित : भदौ २७, २०७७