चीनबाट प्रवेश गर्न खोज्नेलाई गोली हान्न उत्तर कोरियाको आदेश



काठमाडौंः उत्तर कोरियाले कोरोना भाइरस संक्रमण रोकथामका लागि थप कडाइ गरेको छ ।

एक पछि अर्को विपद झेल्न बाध्य भएको उत्तर कोरिया चीनसँगको सीमाक्षेत्रमा थप कडाइ गरेको हो ।

दक्षिण कोरियास्थित अमेरिकी सैन्य कमाण्डरका अनुसार उत्तरले चिनियाँ भूमिबाट छिर्न खोज्ने मानिसहरुलाई नसोधिकन गोली हान्नेसम्मको आदेश सुरक्षाकर्मीलाई दिएको छ ।

यस अनुसार उत्तरका अधिकारीले आफ्नो देशको एक किलोमिटर भूमिसम्म छिर्नेहरुलाई नसोधी गोली हान्न पाउने छन् । चीनबाट कोरोना संक्रमित सीमाभित्र छिर्नसक्ने भएकाले उत्तरका अधिकारीहरुले यस्तो कडाइ अपनाएका हुन् । सबैभन्दा नजिकको सहयोगी चीन नै भए पनि उत्तरले कोरोना भाइरस विरुद्ध कडा नीति लिएको छ ।

यद्यपि उत्तरमा हालसम्म पनि कोरोना संक्रमित नभएको दावी गरिएको छ । संकटकाल घोषणा गर्नुका साथै उत्तरले महामारी विरुद्ध उच्च सतर्कता अपनाएको बताइन्छ । यससँगै उत्तरमा आयातको समस्या देखिन थालेको छ ।

चीनबाट मात्रै ढुवानी गर्दै आएको उत्तरले सिमानामा कडाइ गरेपछि यसको असर नियमित ढुवानीमा पनि देखिँदैछ । सोही कारण चीनबाट ढुवानी हुने सामाग्री ८५ प्रतिशतले कम भएको बताइएको छ । उत्तरमा एक साताअघि आँधीको असरले ठूलो जनधनको क्षति भयो । हजारौँ घर भत्किनुका साथै धेरै मानिस विस्थापित हुनु परेको छ ।

प्रकाशितः २७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्