सिन्धुपाल्चोकमा फेरी पहिरो : १८ घर पुरिए, १५ जना वेपत्ता



सिन्धुपाल्चो : सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका-७ मा शनिबार राति पहिरो जाँदा कम्तिमा १८ घर पुरिएका छन् भने १५ जना व्यक्ति वेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएका छन् ।

शनिबार राति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।

त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव बढ्ने र पहिरो जान सक्ने भएकाले आइतबार बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्