सुदूरपश्चिममा ठेकेदारको लापरबाहीले मल अभाव, कृषक चिन्तित



कैलाली : गहुँ र तोरी छर्ने समयमा रासायनिक मलको चरम अभाव भएपछि सुदुरपश्चिमका कृषकहरु समस्यामा परेका छन् । जिल्लामा किसानले मागेको भन्दा ८० प्रतिशत कम मल पाउँदा समस्यामा परेका हुन् । खेतिपातीको समयमा कैलाली लगायत सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका किसानले समस्या झेल्दै आइरहेका छन् ।

 

रासायनिक मलका लागि कृषि सामग्री कम्पनी लिमिटेड धनगढी पुग्ने किसानले माग अनुसारको मल नपाई फर्कने गरेका छन् । किसानले धान भित्र्याएपछि गहुँ, तोरी र हिउँदे तरकारी लगाउने समयमा प्रर्याप्त रासायनिक मलको सहज आपूर्ति नहुँदा किसानले समयमा खेती लगाउन समेत समस्या हुने गरेको छ । 

 

रासायनिक मलको अभाव भएपछि यसले गहुँको उत्पादनमा समेत उचित प्रतिफल नआउने देखिएको छ ।  रासायनिक मलको आपूर्ति र बिक्रीवितरण कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडले गर्दै आइरहेका छन् ।

 

हरेक दिन बिहानैदेखि ठूलो आशा बोकेर किसान कृषि सामाग्री केन्द्र पुग्ने गरे पनि भनेजति मल नपाएपछि निराश हुने गरेका छन् । स्थानीयवासी कृषकले गुणस्तरीय मल नपाएपछि किसानले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने न्युन गुणस्तरको मल प्रयोग गर्न बाध्य भएको बताउदै यस वर्ष गहुँ बाली उत्पादन घट्न गई खाद्य सङ्कट सिर्जना हुने बताइएको छ ।

 

कैलाली जिल्लामा मात्र दुई सय ५० भन्दा बढी कृषि सहकारी संस्था डिलर मार्फत् संस्थानले रासायनिक मल विक्रिवितरण गर्दै आईरहेको छ । तर, सहकारी संस्थाहरु भने सय बोराको माग लिएर आउँदा २० बोरा मात्र मल लिएर जानुपर्ने समस्या झेल्दै आईरहेका छन् । जसका कारण उनीहरुले किसानको माग वमोजिम मल उपलब्ध गराउन नसकेको बताउँछन् । 

 

किसानहरुले धान खेती भित्र्याइ सकेसँगै गहुँ, तोरी छर्ने बेला सुरु भईसकेको छ । योसँगै किसानहरुले खेतीपाती गर्न समयमै रसायनिक मलको आवश्यकता पर्छ । कृषि सामाग्री केन्द्र धनगढीका प्रमुख दुर्गा पाण्डेयले रासायनिक मलको वर्षेनी अभाव हुने गरेको स्वीकार गर्दै ठेकेदारको लापरबाहीका कारण मल आपूर्ति हुन नसक्दा किसानलाई समयमा मल उपलव्ध गराउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्