तरकारीले बजार नपाउँदा किसान मर्कामा



बाँके : बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् ।

बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसानहरु बाध्य छन् । “कहिले नेपालगञ्ज क्षेत्रमा निषेधाज्ञा, कहिले कोहलपुरमा, कहिले खजुरामा त कहिले अन्य गाउँपाािलका क्षेत्रमा हुने निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले बजार नपाउादा लगानी पनि उठाउन सकिने अवस्था छैन”, कोहलपुरका किसान लक्ष्य खड्काले भने ।

अहिले बसन्ते तरकारी उत्पादनको समय हो । यो सिजनमा बाँकेमा एक हजार ७५० हेक्टरमा तरकारी खेती हुन्छ भने सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । यो सिजनमा बाँकेमा लौका, करेला, भिन्डी, बोडी, टमाटर, काँक्रा, सागलगायतको तरकारी उत्पादन हुने गर्दछ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ । पटकपटकको निषेधाज्ञाका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्याउन नसक्दा किसानहरु मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ ।

नेपालगञ्ज आसपासको तरकारी थोक बजारमा बिक्रीका लागि ल्याउन सकिए पनि नेपालगञ्जदेखि टाढा कोहलपुर, बैजनाथ, नरैनापुर र राप्तीसोनारीको तरकारी बजार पठाउन किसानहरुलाई समस्या भएको छ । नेपालगञ्जमा तरकारीको थोक बजार खुला भए पनि कोहलपुरको थोक तरकारी बजार बन्द हुँदा समस्या भएको छ । निषेधाज्ञामा किसानहरुसँग आवातजावतको ‘पास’ नुहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँग पहल भइरहेको प्रमुख ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्