कालीकोटमा कोभिड विशेष अस्पताल सञ्चालन



कालीकोट : यहाँ कोभिड–१९विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अस्पतालको शुभारम्भ गर्दै अन्य प्रदेशमा भन्दा कम कर्णालीमा कोरोना सङ्क्रमित रहेका बताएका छन् ।

उनले भने,“कर्णालीका नागरिकले कोरोना सङ्क्रमणबाट मृत्यु व्यहोर्नु पर्ने छैन । उपचारका लागि जुम्ला र सुर्खेत जानुपर्ने बाध्यता अब हट्नेछ ।” उनका अनुसार कर्णाली प्रदेशका १० वटा जिल्लामा यति ठूलो भवनमा कतै पनि कोभिड विशेष अस्पताल बनेको छैन । ‘जनस्वास्थ्यका मापदण्डको अवलम्बन गरौँ, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौँ’ भन्ने मूल नारालाई सार्थक बनाउँदै कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा ल्याइएको होे । प्रदेश सरकारको एक करोड ७० लाख बजेटमा विशेष अस्पताल तयार भएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुर्मराज शाहीले अबका दिनमा जिल्लावासीले कोरोनाकै कारण अकालमा ज्यान नगुमाउने बताए । नौवटा स्थानीय तहमा बनाइएका साबिकका क्वारेन्टिन नै अहिले आइसोलसन बनाइएको छ । ती तहले आफ्नो पालिकामा देखिएका सङ्क्रमितलाई कोभिड विशेष अस्पतालमा भर्ना गरे उपचारमा कमी नहुने बताइएको छ ।

विशेष अस्प्तालमा हाल ५४ श्ययाको तयारी पूरा भएको छ । एकीकृत भवनमा सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा हाल आइसियु कक्ष २ र भेन्टिलेटर एक गरी जम्मा ५४ श्ययाको तयार गरिएको अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्