मासु खाँदा कति फाइदा कति बेफाइदा ?



एजेन्सी : धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । तर मासुले हामीलाई स्वाद मात्र दिँदैन स्वास्थ्यका लागि फाइदा पनि दिन्छ । मासु खान जान्दा धेरै खालका फाइदाहरू छन् भने नजान्दा त्यो भन्दा धेरै खतरनाक बेफाइदाहरू ।

विशेष गरी शरीरमा सजिलै सोसिन सक्ने उच्च गुणस्तरको प्रोटिन, केही भिटामिन तथा खनिजका लागि मासु उत्तम खानेकुरा हो । हाम्रोजस्तो प्रोटिनको कमीका कारण धेरै कुपोषित भइरहेको मुलुकमा कुपोषणको दीर्घकालीन समाधानका लागि माछा, मासु, अण्डा राम्रा स्रोतहरू हुन् । तर यही फाइदाकर मासुको स्वच्छता र खाने मात्रा तथा तरिकामा उचित ध्यान नपुग्दा फाइदाभन्दा समस्या बढी निम्तिइरहेका छन् ।

मासुको अत्यधिक प्रयोग मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स :-

कस्ताे मासु स्वस्थकर ?

मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पुर्‍याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ ।

मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोल बढी भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुन्छ । सकभर रातो मासु कम खानुपर्छ । सेतो मासु भने स्वास्थ्यका लागि राम्रो मानिन्छ । तुलनात्मक रूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा प्रयोग गर्नु बढी श्रेयस्कर हुन्छ।

कतिपय मानिसले मासुमा भएको बोसो अत्यधिक प्रयोग गर्ने गर्छन् । गाउँघरतिर त छुट्टै निकालेर बोसो खाने प्रचलन समेत छ । तर, स्वास्थ्यका लागि भने सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो हुन्छ ।

मासु खाएपछि शरीरलाई व्यायाम वा शारीरिक क्रियाकलापको अवश्यकता हुन्छ ।

यसरी मासु नखानुस्

बढी चिल्लो र पिरो बनाएर मासु खानु हुँदैन । यसरी खाँदा ग्यास्ट्रिक, प्रेसर, बान्ता, अपच, फुड पोइजनलगायत समस्या आउन सक्छ । शरीरका लागि केही मात्रामा राम्रो मानिए पनि धेरै मासुको प्रयोगले भने हानि गर्न सक्छ ।

त्यसैले दिनमा तीन–चार पिस मात्र मासु प्रयोग गर्नुपर्छ । डिनरमा भने मासु नखाएकै राम्रो । किनभने डिनरमा मासु खाँदा अपच, मोटोपनलगायतका समस्या आउन सक्छ । पकाएको मासुलाई कहिल्यै पनि फ्रिजमा राख्नुहुँदैन । पकाएर फ्रिजमा राखेको मासुमा पौष्टिक तत्व हुँदैन ।

प्रतिक्रिया दिनुहोस्