अग्रपङ्क्तिका सुरक्षाकर्मी सजग हुँदै सेवामा खट्दै



काठमाडाैं : कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण बढ्दै गएका अवस्थामा गण्डकी प्रदेशमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी पनि सङ्क्रमणको जोखिममा परिरहेका छन् । गण्डकीका प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालयसहित यतिखेर ठूलै सङ्ख्यामा सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भए पछि प्रहरी सङ्गठन भित्र पनि स्वास्थ्य सुरक्षाको चुनौती थपिएको हो । अग्रपङ्क्तिमा रहने सुरक्षाकर्मी पनि सङ्क्रमणको जोखिममा परेपछि यसले मनोसामाजिक प्रभाव समेत पार्ने देखिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हालसम्म गण्डकी प्रदेशमा कार्यरत एक सय ५२ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस (कोभिड – १९) को सङ्क्रमण देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता किरण राणाले जानकारी दिए । राणाका अनुसार सङ्क्रमण भएका मध्ये ६६ जना कोरोना मुक्त भई नियमित सेवामा फर्किसकेका छन् भने ८६ जना उपचाररत छन् । प्रहरीमा कोरोना जोखिम बढ्दै गएपछि विशेष सावधानी अपनाइएको प्रवक्ता राणाले बताए ।

“स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गर्दै सेवामा खटिने र सङ्क्रमित भएका अवस्थामा अन्य प्रहरी कर्मचारीहरूमा सङ्क्रमण फैलन नदिन समूहगत विभाजन गरी ब्यारेकमा रहने बस्ने, ड्युटीमा परिचालन गर्ने र कार्यालयगत कामकाज गर्ने व्यवस्था मिलाएका छौँ,”– उनले भने । सङ्क्रमणबाट प्रभावित प्रहरी कार्यालयहरूमा कामकाजमा बाधा हुन नदिनको लागि गण गुल्महरुबाट प्रहरी कर्मचारीहरू खटाई पठाइएको र फिर्ता भए पश्चात कोभिड– १९ परीक्षण गरिएको उहाँले जानकारी दिए ।

अत्यावश्यक घरायसी समस्याको कारण घर गएका प्रहरी कर्मचारीहरू कार्यालयमा हाजिर हुन आउँदा क्वारेन्टिनमा राखी पिसिआर परीक्षण पश्चात नेगेटिभ रिपोर्ट आएको खण्डमा नियमित ड्युटीमा लगाउने र पोजेटिभ देखिएको खण्डमा आइसोलेसनमा राख्ने ब्यवस्था प्रहरीले मिलाएको छ । कार्यालय परिसर, अफिस कोठा एवं प्रहरी हिरासतलाई समय समयमा डिस्इन्फेक्सन गरिएको र नेपाल प्रहरीबाट तयार पारिएको कोभिड १९ महामारी विरूद्धको कार्ययोजना बमोजिम प्रहरी कार्यालयका काम कारवाही अघि बढाइएको छ ।

स्वास्थ्य परीक्षण बिना नै प्रहरी कर्मचारीहरू सिमानाहरूमा चेकजाँच एवं अन्य ड्युटीमा खटिनुपर्ने जिम्मेवारीका साथै जघन्य अपराधमा संलग्नलाई पक्राउ एवं नियन्त्रणमा लिँदा निजको सम्पर्कमा आएका प्रहरी कर्मचारीहरूलाई कोभिड– १९ को सङ्क्रमण हुने सम्भावना बढी हुनु यतिखेर चुनौतीका रुपमा देखिएको छ । बन्दाबन्दी खुलेपश्चात सवारी साधनको प्रयोग गर्ने मानिसहरूको सङ्ख्यामा बृद्धी भएको हुँदा सङ्क्रमितहरूको सम्पर्कमा आएका मानिसहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नमा कठिनाई हुनुलाई पनि प्रहरीले चुनौतीका रुपमा लिएको छ ।

सङ्क्रमणको जोखिममा रहेका प्रहरी कर्मचारीहरूलाई पुग्ने गरी पिपिइ, मास्क, पञ्जा, सेनिटाइजरलगायतका अन्य सुरक्षा उपकरणहरूको अभाव रहेको भए पनि बाढी पहिरो, सवारी दुर्घटनालगायतका विपद् उद्दारमा खटिनुपर्ने हुँदा पनि जोखिम बढ्दै गएको छ । त्यस्तै धार्मिक तथा सामाजिक चाडपर्वहरू मनाउनै पर्छ भन्ने आम नागरिकहरूको सोचाईका कारण हुने भिडभाड प्रहरी प्रशासनबाट रोक्न खोज्दा झडपको सामना गर्नुपर्ने जस्ता विषयलाई पनि प्रहरीले चुनौतीका रुपमा लिएको छ ।

बढ्दो सङ्क्रमणको चुनौतीसँगै सङ्क्रमित प्रहरी कर्मचारीहरूको ब्यवस्थापन एवं मनोबल बढाउने प्रयास थालिएको छ । सङ्क्रमित प्रहरी कर्मचारीलाई स्वास्थ्य संस्थासँगको समन्वयमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ भने आइसोलेसनमा रहेका प्रहरी कर्मचारीहरूको स्वास्थ्यमा समस्या देखिएमा तत्काल नजिकैको अस्पताल लैजाने गरिएको छ । कोरोनाको असर र यसबाट निको हुन अवलम्बन गर्नुपर्ने उपायहरूको जानकारीको व्यवस्था मिलाइएको छ ।

कार्यालय प्रमुख र जिम्मेवार अधिकृतबाट सङ्क्रमितसँग नियमित टेलिफोन सम्वादमार्फत् उनीहरूको अवस्था बुझ्ने एवं हौसला बढाउने, आवश्यकतानुसार मनोविमर्शकहरूबाट मनोपरामर्श गर्ने व्यवस्था मिलाइएको छ । सङ्क्रमित कर्मचारीलाई स्वास्थ्यकर आहारविहारको व्यवस्था गर्नुका साथै शारीरिक व्यायाम, योगलगायतका अभ्यास गर्नको लागि सहजिकरण गर्नुका साथै आइसोलेसनको मापदण्ड बमोजिम सेवा सुविधाको व्यवस्थापनमा कमी कमजोरी नहुने गरी व्यवस्था मिलाइएको प्रवक्ता राणाले जानकारी दिए । पत्रपत्रिका पढ्ने, सूचना एवं मनोरञ्जनको लागि रेडियो टिभीको व्यवस्थापन गरिएको छ ।

पछिल्लो अद्यावधिक विवरणअनुसार गण्डकी प्रदेशको तनहु जिल्लामा १२ जना प्रहरी कर्मचारीमा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच जना निको भएका छन् भने सात जना उपचाररत छन् । त्यस्तै बाग्लुङ जिल्लामा चार जनामा कोरोना पुष्टि भएकोमा एक जना निको भएक र तीन जना उपचाररत छन् । नवलपरासी पूर्वमा कोरोना पुष्टि भएका छ जनामध्ये पाँच जना निको भइसकेका छन् भने एक जना उपचाररत छन् ।

स्याङजामा कोरोना पुष्टि भएका ४१ जना सबै निको भइसकेका छन् । कास्कीमा ५० जनामा कोरोना पुष्टि भएकोमा १३ जना निको भएका छन् भने ३७ जना उपचाररत छन् । लम्जुङमा ३६ जनामा कोरोना पुष्टि भएकोमा एक जना निको भइ फर्किएका छन् र ३५ जना उपचाररत छन् । म्याग्दी, पर्वत र मनाङमा एक÷एक जनामा कोरोना पुष्टि भइ सबै उपचाररत छन् भने मुस्ताङमा अहिलेसम्म प्रहरी कर्मचारीमा कोरोना देखिएको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोरोनाको जोखिममा उच्च सतर्कता अपनाएर शान्ति, सुरक्षा र अमन चयनका लागि प्रहरी खटिएको बताए । “जिल्लामा करिब नौ सय ५० को हाराहारीमा प्रहरी रहेका छन्, ८० वटा प्रहरी युनिट रहेको छ, जोखिम भएका कारण सतर्कता अपनाएर काममा खटिएका छौँ,” – उनले भने । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार जिप्रका कास्की अन्तर्गतका दरबन्दीमा कार्यरतमध्ये अहिलेसम्म चार जनामा कोरोना सङ्क्रमण देखिएकोमा एक जना उपचार पछि निको भइसक्नुभएको छ भने तीन जना उपचाररत छन ।

सुरक्षा सतर्कतालाई दृष्टिगत गरी प्रहरी सेवा अन्तर्गत प्रदेश भित्रका सबै कार्यालय तथा युनिटमा समूह÷समूह विभाजन गरी सामाजिक दूरीलगायतका जनस्वास्थ्यका सामान्य मापदण्डलाई सकेसम्म व्यवस्थापन गर्ने प्रयास गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सन्तोष रोक्काले सुरक्षा सजगतालाई ध्यान दिदै आन्तरिक बसाइको व्यवस्थापनमा पनि अलग्गै छुट्याएर राख्ने गरिएको जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अन्तर्गत ९० जना कार्यरत रहेको जानकारी दिदै उनले जिल्ला कार्यालयसहित अन्य सातवटा पोष्टमा सात/सात जनाको दरले ट्राफिक प्रहरी खटिरहेको बताए । “प्रत्येक पोष्टमा सात/सात जनाको दरले कार्यरत छन, आन्तरिक बसाइलाई व्यवस्थापन गर्नका लागि जिल्लामा रहने ट्राफिक प्रहरी कर्मचारीलाई तीन/तीन वटा ब्लकमा विभाजन गरी राखेका छौँ,”– उनले भने ।

सङ्क्रमणको चुनौतीका कारण अत्यावश्यक काम बाहेक प्रहरी कर्मचारीले लिने विदामा पनि कडाइ गरिएको उहाँले जानकारी दिए । उनका अनुसार विदामा गएर आउनेका लागि अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेश भित्र ३१८ जना ट्राफिक प्रहरी कार्यरत छन् । प्रदेश भित्र कार्यरत ट्राफिक प्रहरीलाई कार्यलय भित्र वा बाहिर जहाँ खटिदा पनि मास्क तथा सेनिटाइजरको अनिवार्य प्रयोग, सामाजिक दूरी कायमलगायतका कार्यमा विशेष ध्यान दिइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिने र नागरिकमा कोरोनाबाट बच्नका लागि सचेतना जगाउने उद्देश्यका साथ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तर्गत रहेका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय अघि सचेतनामुलक सन्देशयुक्त फ्लेक्स बोर्ड टाँस्न लगाइएको उनले जानकारी दिए । कोरोनाबाट आफूँ पनि बचौँ र अरुलाई पनि बचाऔँ, अनिवार्य मास्क लगाऔँ, सेनिटाइजर प्रयोग गरौँ, साबुनपानीले हात धौऔँ, ट्राफिक नियम पालना गरौँ, सवारी दुर्घटनाबाट बचौँ र बचाऔँ जस्ता सचेतनामुलक सन्देशहरू ठाउँ ठाउँमा राखिएको उनले बताए ।

“हामी बढ्दो कोरोना सङ्क्रमणका बाबजुद पनि सतर्कता अपनाउँदै सेवा प्रवाहलाई प्रभावकारिताका साथ अघि बढाएका छौँ,” प्रवक्ता कार्कीले भने, “गण्डकीमा ट्राफिक प्रहरीतर्फ भने हालसम्म एक जनालाई पनि कोरोना सङ्क्रमण भएको छैन ।” गण्डकी प्रदेशमा हालसम्म कुल कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसिआर परीक्षण गरिएकोमा ५२ हजार ८३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा सङ्क्रमित भएकामध्ये एक हजार ८४९ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३० जना रहेको छ । कोरोना सङ्क्रमणका कारण हालसम्म २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्रमा पिसिआर परीक्षण भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्