धनुषामा पुनः एक हप्ता निषेधाज्ञा, पसलहरु साँझ ६ बजेसम्म खुल्ने



जनकपुरधाम : धनुषा जिल्लामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समयअवधि पुनः एक हप्ताका लागि थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयअवधि भदौ २८ गते आइतबार राति १२ बजेपछि सकिन लागेपछि पुनः असोज ४ गते आइतबार राति १२ बजेसम्मका लागि थप गरिएको जानकारी दिए ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आईतबारको निर्णय अनुसार किराना, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाईने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाईने भएको छ । त्यस्तै जिल्ला भित्र सबै प्रकारका निजी सवारी साधनहरु जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने तथा सबै कार्यालयबाट स्वास्थ्य सम्बन्धी मापदण्ड कार्यालय प्रमुखले पालना गर्ने गराउने गरि सबै प्रकारका सेवाहरु सुचारु गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सैलुन, ब्युटीपार्लर, हटिया, सब्जीमण्डी, जिमखाना, सिनेमा हल, पार्टीप्यालेस तथा सपिङ्ग मलहरु बन्द राख्न सूचना मार्फत जानकारी गराएको छ ।

प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु फेरि आगामी ७ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभरि निषेधाज्ञाको समयअवधि थपिएको प्रजिअ भट्टराईले जानकारी दिए ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्