सिन्धुपाल्चोक : बेलुकीदेखिको अविरल वर्षाले उर्लिएको टक्सारे खोल्सासँगै थिलथिलो बनेका बाह्रबिसे नगरपालिका–७ घुम्थाङको भीरखर्क, नागपुजे, डाँडागाउँ बस्तीका २२ घर शनिबार रातिको पहिरोले बगाउँदा ११ ले ज्यान गुमाएका छन् । २० जना बेपत्ता छन् ।
शनिबार राति करिब साढे ३ बजे एकै पटक पहिरो खस्दा भीरखर्क, नागपुजे र डाँडागाउँ बस्तीका २२ घरलाई पहिरोले भोटेकोसी नदीमा मिसाएको हो ।
– सूर्यबहादुर खड्का (७० वर्ष), बाह्रबिसे–७ घुम्थाङ, भीरखर्क
शनिबार बेलुकीदेखि मुसलधारे पानी दर्किरहेको थियो । माथिल्लो टसाइ खोला बढिरहने भएकाले त्यसकै चिन्ताले निद्रा लाग्दैनथ्यो । त्यसैले बेलुकीको खानपान सकेपछि म र श्रीमती घरबाहिर सुतेका थियौं । घरमा अरू कोही थिएनन् । दिनभर घरधन्दाले थाकेका हामी मस्त निदाएका रहेछौं । एक्कासि बिहान साढे ३ बजेतिर ड्याम–ड्याम गरेको आवाजले तर्सिएर उठ्यौं । घरको भित्तोसहित सबै हल्लिन र थर्किन थालेपछि हामी दुवै जना आत्तिएर बाहिर निस्कियौं । हाम्रो एकतले घरको भित्तोसम्मै पहिरोको ढुंगा र लेदो आइसकेको रहेछ । त्यतिबेलासम्म वरिपरिको गाउँबस्तीका सबै घर बगाइसकेको पो रहेछ । आफन्तहरूले ऐया भन्न पनि पाएनन् ।
घरको दैलोछेउमै पुगेको मात्रै के थिएँ । माथिबाट ओइरिएको पहिरोले मेरो टाउको र जीउमा हानेपछि एकछिन त बेहोसजस्तै भएँ । वरिपरि भागाभाग चलिरहेको थियो । परबाट छिमेकीले ‘भाग भाग’ भनेर चिच्याएको र रोएको चर्को आवाज सुनें । मलाई समातिरहेकी श्रीमतीसहित एकै बल लगाएर भीरखर्कको छेउको मानेडाँडातर्फ दौडिएँ । सुरक्षित स्थानतर्फ दौडिरहँदा दैवलाई खुबै सम्झिएँ, उनैले बचाए ।
‘भाग्दाभाग्दै पहिरोले छोप्यो’
– छेसाङ तामाङ (५३ वर्ष), बाह्रबिसे–७ डाँडागाउँ
सुतिरहेका बेला अचानक घर पूरै हल्लिन थाल्यो । भूकम्प आयो भन्ठानेर म परिवारका सबै सदस्यलाई उठाएर घरबाहिर निक्लिएँ । वरिपरि पहिरोले घेरिसकेको रहेछ ।
छोराछोरीसहित म आत्तिएर पारिपट्टि हेर्न थाल्यौं । पारिबाट छिमेकी र आफन्तले ‘भाग भाग’ भनेर चिच्याउँदै थिए । पहिरो केही थामिएपछि मौका छोपेर परिवारका सबैलाई लिएर भाग्न खोजें तर पहिरोले बीचमै मलाई छोप्यो । केही समय त सास फेर्न सकिनँ । तर छिमेकी र सुरक्षाकर्मीले आएर तानेपछि हामी बाँच्न सफल भयौं । बाँचिएला, अस्पताल आइएला भनेर सोचेकै थिइनँ ।
त्यहाँ यस्तो जोखिम होलाजस्तो लागेको थिएन । तर नपत्याउँदो खोलाले बगाउँछ भन्थे, हो रहेछ । सानो टसाइ खोलाले बगाएर यत्रो विध्वंस मच्चियो । मेरो परिवारलाई त केही भएन तर अरू भीरखर्क र नागपुजेका छिमेकी जिउँदा रहेनछन् । अब गाउँ पूरै जोखिममा छ । कहाँ गएर बस्ने ठेगान छैन । हे भगवान् अब यस्तो कहिल्यै नहोस् ।
‘नत्र पहिरोमा हराउँथें’
– धर्मध्वज तामाङ (१८ वर्ष), बाह्रबिसे–७ डाँडागाउँ, किम्बे टोल
राति नराम्रो सपना देखेकाले बिहान ३ बजे उठिसकेको थिएँ । एकछिनमा गाउँभर हल्लाखल्ला चल्यो । हामी सबै उठेर बाहिर निक्लियौं । बाहिर गाउँका सबै जना भागाभाग गरिरहेका थिए । घरबाहिर त पहिरोले सबै छोपिसकेको रहेछ । आत्तिएर रुन, कराउन थालें । हजुरबुबाले हात समातेर ‘उता जाऊ’ भन्नुभयो । डर लागेकाले जान मानिनँ ।
केही छिनमा पहिरो रोकिएजस्तो भएपछि हामी सबै मिलेर भाग्यौं । कस्सिएर भाग्न सकेको थिइनँ, हातपाउ गलेको थियो । एकैक्षणमा घर बगाउलाजस्तो भएपछि आँट गरेरै भाग्यौं । हात र खुट्टामा चोट लाग्यो, नाकबाट रगत पनि आयो तर बेलैमा भागेकाले बाँच्न सफल भयौं, नत्र पहिरोमा हराउँथें । कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेका छन् ।
प्रकाशित : भदौ २९, २०७७