प्रहरीलाई आचारसंहिता : पोसाकदेखि सलामीसम्ममा नियम



काठमाडौं : प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन् ।

सो कार्यादेशमा प्रहरी संगठनभित्र रहँदा पालना गर्नुपर्ने अनुशासन, सम्मान तथा आवश्यक नियमबारे उल्लेख गरिएको छ । कार्यादेश जारी गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरूले संगठनलाई सही मार्गमा लैजान दुरगामी रूपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

‘कार्यादेश र निर्देशिकाले संगठनलाई सही मार्गमा लैजान दुरगामी रूपमा सकारात्मक असर पार्छ, यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत गर्छ,’ कार्यादेश सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले भने ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले प्रहरी संगठनभित्रको आचरण र व्यवहारका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको र सो कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको बताए ।

‘प्रहरी संगठनभित्रको विभिन्न नियम पालनाका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको हो । कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास छ,’ प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भने ।

कार्यादेशमा जनसम्पर्क तथा भेटघाटसम्बन्धी व्यवहार, अनुशासन र भाइचारा, कानुनको पालना, सञ्चार माध्यमसँगको सम्बन्ध, पोसाकप्रतिको व्यवहार, राष्ट्रिय झन्डाप्रतिको सम्मान, सलामीसम्बन्धी व्यवस्था र सम्मान तथा भान्छामा गरिनुपर्ने व्यवहारलगायतलाई स्पष्ट पारिएको छ ।

कार्यक्रममा महानिरीक्षक क्षत्रीले प्रहरी संगठनमा व्यावसायिकता नै मुख्य भएकाले सडकमा समेत व्यावसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

उनले विश्व महामारीका रूपमा रहेको कोभिड–१९ लाई सबैको साझा शत्रुका रूपमा लिएर नियन्त्रणमा एक भएर लाग्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा उनले नेपाल प्रहरी कार्ययोजना २०७७ को इमप्लिमेन्टेनसन ट्र्याकिङ सफ्टवेयरको समेत शुभारम्भ गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू सहभागी थिए भने प्रदेश प्रहरी प्रमुखको भर्चुअल्ली उपस्थिति रहेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्