डोटीमा निषेधाज्ञा खुकुलो



डोटी : डोटीमा लगाइएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले भदौ १४ गतेदेखि जारी गरेको निषेधाज्ञा आइतबार रातिदेखि खुकुलो पारेको हो ।

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि समुदायमा कोरोना फैलिने डर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । भदौ १४ गते एक साताका लागि लगाइएको निषेधाज्ञा एक साता पुनः थप गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा पारेको जानकारी दिएको छ ।

सोमबारदेखि जिल्लामा हुने व्यापार व्यवसाय स्वास्थ्य सावधानी अपनाएर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म गर्ने, सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु राखेर र चालक सहचालकले मास्क प्रयोग गरेर मात्र जिल्लाभित्र सवारी साधन चलाउन पाइने जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालयहरु, निजी तथा गैरसरकारी संस्थाका कार्यालयहरु, बैंक र वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउने छन् भने होटेल, रेष्टुरेन्ट तथा खाजा घर भिडभाड नहुने गरी चलाउनु पर्ने व्यवस्था गरिएको छ ।

अर्को व्यवस्था नभएसम्म शैक्षिक संस्था, भाषा कक्षा, ट्युसन सेन्टर, प्रशिक्षण केन्द्र सञ्चालन नगर्ने, धार्मिक कार्य, मेला महोत्सव नगर्ने र मनोरञ्जनात्मक कार्य गर्न पाइने छैन ।

यस्तै सैलुन पसल, जिमखाना, समूहमा खेलिने खेल, ब्युटिपार्लर, पुस्तकालय सञ्चालन गर्ने, धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक मेला पर्व लगाउन नपाइने, सामूहिक भोजभतेर गर्न नपाइने स्थानीय प्रशासनको विप्तिमा उल्लेख छ ।

अनुमति लिन नपर्ने सवारी साधनहरुबाहेक जिल्लाभित्र प्रवेश गर्ने सवारी साधनहरुले अनुमति विना प्रवेश गर्न पाउने छैनन् ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्