नेपाल-भारत सीमा क्षेत्रमा नेपाली युवामाथि गोली प्रहार



विराटनगरः नेपाल-भारत सीमा क्षेत्रमा एक नेपाली युवामाथि गोली प्रहार भएको छ ।

मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवा हुँदै भारततर्फ छिरेका विराटनगर-१२ रोडशेष चोकका २४ वर्षीय दीपक मण्डलमाथि सीमा क्षेत्रको दशगजामा गोली प्रहार भएको हो ।

उनीमाथि भारततर्फको भूमिमा गोली हानिएको छ । भारतको जोगवनी नगर पञ्चायत-१२ चाँदनी चोकमा पर्ने घटनास्थल मटेरुवा प्रहरी चौकीबाट लगभग ३० मिटर मात्रै पश्चिममा रहेको छ ।

त्यहाँ सशस्त्र प्रहरी पनि परिचालित छ । तर सीमामा खटिएका नेपाल र सशस्त्र प्रहरीले घटना भएका बेला कुनै जानकारी पाउन नसकेको बताएका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिले सीमा क्षेत्रबाट दुई देशबीचको आवतजावत बन्द छ ।

सीमाका सुरक्षाकर्मीलाई छल्दै आइतबार दिउँसो ३ बजेतिर भारततर्फ लागेका मण्डलमाथि केही पर पुगे पछि गोली प्रहार भएको खुलेको थियो । मोरङ प्रहरीका अनुसार सीमा कट्न साथ दशगजाको भारततर्फ क्यारम खेलेर बसिरहेका भारतीय युवाले विवाद गरेर आफूमाथि गोली प्रहार गरेको जानकारी मण्डलले जानकारी गराएका छन् ।

विवादका क्रममा क्यारम खेलिरहेका मध्ये भारत जोगवनीका अन्दाजी २५-३० वर्षीय मुकेश यादवले आफूसँग भएको पेस्तोल निकालेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्