मदिरा सेवन गरी प्रहरी हवल्दार महिलाको घरमा पसेपछि…



जनकपुरधाम : धनुषामा मदिरा सेवन गरेर एक प्रहरी हवल्दार एक महिलासँग अभद्र व्यवहार गर्न खोजेको घटना बाहिरिएको छ ।

जिल्लाको शहिदनगर नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत ३५ वर्षीय प्रहरी हबल्दार प्रेम नेपाली आइतबार राति मदिरा सेवन गरेर एक महिलाको शौचालयमा प्रवेश गरिरहेको देख्दा स्थानीयले उनलाई समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

आइतवार राति १० बजे ईलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत प्रहरी हबल्दार नेपालीलाई महिलासँग उनको शौचालयमा देखेपछि स्थानीयले आवश्यक कारबाहीका उनलाई यदुकोहाका प्रहरी निरिक्षक दिपक बाबु केसीको जिम्मा लगाएका छन् ।

प्रहरी निरिक्षक केसीले भने,‘हबल्दार नेपाली राति करिब १० बजे मदिरा सेवन गरि त्यहि बाटोबाट फर्किरहेको बेला महिलाको गेट ढकढकाउँदै उनलाई बाहिरको शौचालय खोल्दिन भनेका थिए । त्यतिकैमा स्थानीय केही व्यक्तिले उनीहरुलाई हेरेपछि हबल्दारलाई कुटपिट गर्दै यदुकोहा प्रहरी कार्यालयको जिम्मा लगाए ।’ महिलाले आफुसँग हबल्दार नेपालीले कुनै किसिमको अभद्र व्यवहार नगरेको कुरा समेत प्रहरीलाई जानकारी दिएको निरिक्षक केसीले बताए ।

उनले मदिरा सेवन गरि प्रहरी हबल्दार नेपालीले महिलाको घरमा रातिको समयमा गएकाले विभागीय कारबाही गरिने बताए । यता, प्रहरीमा जिम्मा लगाएपनि कारबाहीका लागि प्रहरी हबल्दार र ती महिलालाई मेडिकल नगराई घटना मिलाउन खाजेको एक स्थानीयले जानकारी दिए ।

प्रकाशित : भदौ २९, २०७७

प्रतिक्रिया दिनुहोस्