घाइते क्रिकेटर ललित भण्डारीलाई काठमाडौं ल्याइयो



काठमाडौं– आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन ।

उनको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । कप्तान मल्लले भण्डारीको सहयोगका लागि खेलाडीले साथ दिने बताएका छन् । साथै उनले उपचारका लागि थप सहयोग गर्न सम्बिन्धित निकायसँग माग गरेका छन् ।

ललितको उपचारका लागि नेपाल क्रिकेट संघले समन्वय र सहयोग गर्ने जनाएको छ । सोमबार अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको विज्ञप्पतीमा संघको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता रहने जनाएका छन् । ललित आइतबार साँझ ट्रकको ठक्करबाट घाइते भएका थिए । उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो ।

धनगढीबाट उनलाई आइतबार राति कोहलपुर ल्याइएको थियो । कोहलपुरमा उपचारपछि उनी खतरामुक्त भएका थिए । कोहलपुरमा गरिएको अपरेशनमा ललितको दायाँ खुट्टा र दायाँ हातको नाडीमा फ्याक्चर देखिएको छ । अपरेसनका लागि उनलाई काठमाडौं ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्