डा. केसीको १९ औँ सत्याग्रह जुम्लामा शुरु



जुम्ला : चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा. गोविन्द केसीले १९ औँ सत्याग्रह जुम्लामा शुरु गरेका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा सोमबारदेखि डा. केसीले १९ औँ सत्याग्रह शुरु गरेका हुन् । उनको जुम्लामा यो दोस्रो सत्याग्रह हो । यसभन्दा अगाडि २०७५ असार अन्तिम साता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सत्याग्रह बसेका थिए ।

सरकारले विगतमा आफूसँग गरेका सहमति कार्यान्वयन नगरेकाले १९ औं पटक अनशन सुरु गर्न बाध्य भएको डा. केसीको भनाइ छ । उनले २०७५ साउन १० गते सरकारसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने माग पनि राखेका छन् ।

साथै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएसको पढाइ शुरु गर्नुपर्ने उनको माग छ । माग पूरा नभएसम्म यसपटकको अनशन नतोड्ने बताउँदै डा. केसीले अब उधारो सम्झौता नहुने बताए ।

चिकित्सा शिक्षा अध्ययनको प्रमुख उद्देश्यसहित करिब एक दशकअघि स्थापना भएको सरकारी स्वामित्वको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको अध्ययन अनुमति नदिएर सरकारले कर्णालीलाई उपेक्षा गरेको उनको भनाइ छ ।

सरकारले दुई वर्षअघि नै गरेको सम्झौतामा जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने उल्लेख रहेको थियो । तर, अझैसम्म सरकारले त्यसलाई रोकेर राखिएको डा. केसीको आरोप छ । उनले भने–‘यसको प्रमुख जड भनेको प्रधानमन्त्रीको मेडिकल माफियासँगको सामीप्यता हो ।’

कर्णालीमा एमबीबीएस कार्यक्रम सफल भए काठमाडौंमा मेडिकल कलेज खोलेर व्यापार गर्ने प्रणालीमागि प्रश्न उठ्ने भएकोले सरकार अनिच्छुक देखिने गरेको उनको भनाइ छ ।

प्रकाशित : भदौ ३०, २०७७

प्रतिक्रिया दिनुहोस्