प्रवक्ता श्रेष्ठमाथि खनिए सूर्य थापा : व्यक्तिगत दबाब र लबिङ किन ?



काठमाडौं : नेकपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठमाथि प्रचार विभाग उपप्रमुख सूर्य थापाले समाजिक सञ्जालमा खरो आलोचना गरेका छन् ।

भदौ २९ गते पदावधि समापन भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्ति र स्वयंमसेवक परिचालनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापा आफ्नै विभाग प्रमुख श्रेष्ठमाथि खनिएका हुन्।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा उठाएका ती दुई विषयमा सामाजिक सञ्जालबाटै थापाले प्रवक्ताको जिम्मेवारीमा बसेर पदीय दायित्व ख्याल नगरेको आरोप लगाए ।

प्रवक्ता श्रेष्ठले आइतबार आफ्नो सचिवालयले कोरोना नियन्त्रणका सम्बन्धमा स्वयंसेवक परिचालन गर्ने भन्दै सामाजिक सञ्जाल ट्विटरबाट घोषणा गरेका थिए। लगत्तै आइतबार कुलमान घिसिङको पुनः नियुक्ति हुनेमा आफू विश्वस्त श्रेष्ठले उल्लेख गरे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख थापाले ती दुवै विषयलाई श्रेष्ठलाई एकमुष्ठ जवाफ दिएका छन् । कुलमानका पक्ष–विपक्षमा हुनु मतभिन्नता भएपनि एक अवधि पूरा गरेका घिसिङको पुनः नियुक्तिमा पार्टी प्रवक्ता नै खुलमखुल्ला लबिङमा लाग्नु ठिक नभएको थापाको जिकिर छ ।

‘सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ?,’ थापाले प्रश्न छ, ‘पार्टीको हाल जिम्मेवारी यही हो ? सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ ?’

सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको भन्दै थापाले प्रति‍प्रश्न गरेका छन्। श्रेष्ठले आइतबार आफ्नो सचिवालयमार्फत स्वयमसेवक दस्ता परिचालन गर्ने घोषणा गरेको विषयमा समेत थापाले ‘कहिले मरिन् सासु, अहिले आए आशु’ भन्ने उखान हालेर आफ्नै प्रचार विभाग प्रमुखलाई उडाएका छन्।

चैत १० गतेदेखि लकडाउन गरिएको बताउँदै थापाले अहिले आएर स्वयंसेवक दस्ता परिचालनमा संगति र सरोकार नमिलेको थापाको दाबी छ । कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालय,सिसिएमसी र राज्यका अरु निकायले कामगरी रहेकाले स्वयंसेवक परिचालन कार्यभाविभाजनमा कतै नभएको थापाले बताए । थापाको श्रेष्ठसँगको जुहारी नौले भने होइन ।

नेकपाभित्र थापामाथि बालुवाटारबाट खटाइएको ‘चितुवा’को रुपमा चर्चा गरिन्छ । थापाले यसअघि आफ्नै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’माथि समेत चिखो टिप्पणी गर्दै आएका थिए ।

पार्टीभित्रको विवादमा प्रधानमन्त्रीभन्दा अघि बढेर अध्यक्षको समेत आलोचना गर्दै आएका छन् । थापा पार्टी केन्द्रीय सदस्यको हैसियतमा भएपनि स्थायी कमिटीका भीम रावल, जनार्दन शर्मालगायत प्रभावशाली नेताहरुसँगसमेत व्यक्तिगत तहमा उत्रिएर आलोचना गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्