एमसिसी अनुमोदन गर्न ओली-प्रचण्डको निर्देशन



काठमाडौंः संसदमा विचाराधीन रहेको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता (एमसिसी) नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पास गर्ने भएको छ ।

नेकपाले लामो समयदेखि एमसीसीबारे छलफल गर्दै आएको थियो । पाँचौ स्थायी कमिटीको बैठकले अनुमोदन गर्न निर्देशन दिएको छ ।

जारी अन्तर पार्टी निर्देशन (अपानि) मा सम्झौतालाई राष्ट्रियहितमा स्पष्ट गर्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने उल्लेख गरिएको छ ।

‘नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कपोरेसनबीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनका लागि विचाराधीन छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरेको थियो,’ अपानिले भनेको छ, ‘कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने, उक्त सम्झौतालाई राष्ट्रियहितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने’ भनिएको छ ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्