पर्यटन प्रवर्धन गर्न गुरुयोजना निर्माण



कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिकाले पर्यटन प्रर्वद्धन गर्न गुरुयोजना निर्माण गरेको छ । नगरपालिका क्षेत्रमा पर्यटक भित्र्याइ आर्थिक गतिविधिमा तीव्रता दिनका लागि पर्यटकीय गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने तयारी गरेको हो ।

पर्यटकीय गुरुयोजनामा शहीद पार्क निर्माण गर्ने, भ्यूटावर निर्माण, बुद्धको ठूलो मूर्ति स्थापना गर्ने, जनजाति होमस्टे स्थापना गर्ने र नगरपालिकाका १९ वटा ठाउँमा पिकनिक स्पट निर्माण गर्नेलगायत रहेका छन् ।

पर्यटकीय क्षेत्रका जाने सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने कार्यलाई समेत गुरुयोजनामा राखिएको छ । प्रस्तावित पर्यटकीय क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणसँगै होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने तालीमको व्यवस्था र क्षमता अभिवृद्धि गर्ने कार्यलाई समेत गुरुयोजनामा राखिएको छ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्रराज भट्टले भने, “पर्यटकीय गतिविधिमा तीव्रता ल्याई नगरपालिकालाई आर्थिकरुपमा सवल बनाउनकै लागि गुरुयोजना बनाइएको छ ।”

नगरपालिकाको आन्तरिक स्रोतले पर्यटकीय गन्तव्यको कार्य अगाडी बढाउन नसकिने भएकाले आर्थिक स्रोत जुटाउनका लागि पहल भइरहेको नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीले बताए । प्रदेश सरकार र सङ्घीय सरकारसँग आर्थिक स्रोतको व्यवस्थाका लागि आग्रह गरिएको उनले बताए । गुरुयोजनाअन्तर्गत निर्माण हुने संरचनाका लागि संस्कृति तथा पर्यटन मन्त्रालयले माग गरेअनुरुपको रु ६० लाखको प्रस्ताव पठाएका छौँ उनले भने, “प्रस्ताव स्वीकृत भएर आएपछि पहिचान गरिएका स्थानमा पर्यटकीय क्षेत्रका आवश्यक पूर्वाधार निर्माणका कार्य शुरु गरिने छन् ।”

प्रतिक्रिया दिनुहोस्