ट्रयाक खुलेको २५ वर्षपछि कालोपत्रे सडक



तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित लालध्वज मार्ग ट्रयाक खुलेको २५ वर्षपछि कालोपत्र हुँदैछ ।

विसं २०५२ सालमा ट्रयाक खोलिएको उक्त मार्गमा कालोपत्रको काम अगाडी बढाइएको हो । सदरमुकाम दमौलीलाई पोखरासँग जोड्ने वैकल्पिक सडक लालध्वज मार्ग कालोपत्रका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाख विनियोजन गरेको प्रदेश सभा सदस्य आशा कोइरालाले जानकारी दिए । वर्षामा हिलो र हिउँदमा धुलाम्य हुने उक्त सडक कालोपत्रका लागि अन्तिम तयारी भएको उनको भनाइ छ ।

शुक्लागण्डकी नगरपालिका–१ गुबे खोलादेखि एक हजार तीन सय मिटर सडक कालोपत्र गर्न लागिएको हो । उनका अनुसार साढे ५ मिटर चौडाइमा सडक कालोपत्र हुनेछ । उक्त सडकलाई गण्डकी प्रदेश सरकारले रणनीतिक महत्वको योजनामा समावेश गरेको छ । थप्रेकवासीको समृद्धिका आधार भएकाले प्रदेश सरकारले यो सडक स्तरोन्नतिका लागि प्राथमिकतामा राखिएको प्रदेश सभा सदस्य कोइरालाको भनाइ छ । उनले भने, “वडा केन्द्रलाई नगरको केन्द्रसम्म जोड्ने यो सडक कालोपत्र भएपछि थप्रेकबाट बसाई सर्ने क्रम रोकिन्छ,”

लालध्वज मार्गका लागि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले सडकको कटिङ, पक्की नाला निर्माणसँगै स्तरोन्नतिका लागि रु एक करोड विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि रु डेढ करोड विनियोजन गरिएको प्रदेश सभा सदस्य कोइरालाको भनाइ छ । उक्त सडक कालोपत्रका लागि मिर नेपाल कन्स्ट्रक्सनले रु ९९ लाख ९२ हजार २४६ मा ठेक्का पाएको छ । गत वर्षको बजेट भएपनि आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्न प्रदेश सरकारले म्याद थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्