ग्रामीण भेग काठेकोटमा बिजुली विस्तार



तनहुँ : स्थानीय घिरिङ गाउँपालिका–२ को ग्रामीण भेग काठेकोटमा बिजुली विस्तार गरिएको छ । हालसम्म विद्युत् सुविधा नपुगेको उक्त ठाउँमा पहिलो पटक बिजुली विस्तार भएको हो ।

हालसम्म टुकी र मैनबत्तीको सहारामा बस्दै आएका स्थानीयवासी घरमै बत्ती आएपछि खुशी भएका छन् । घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले काठेकोटका ४२ घरमा बत्ती बालिएको जानकारी दिए । “घिरिङलाई उज्ज्यालो बनाउने अभियानअन्तर्गत विभिन्न ठाउँमा विद्युतीकरणको काम तीव्र रुपमा भइरहेको छ”, उनले भने, “टुकी र मैनबत्तीको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएसँगै स्थानीयवासी हर्षित छन् ।”

केही समय अगाडि मात्रै सोही वडास्थित माहोरकोटको ५९ घरमा विद्युत् सुविधा विस्तार गरिएको थियो । घिरिङ गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विद्युतीकरणको अभियानलाई तीव्र पारिएको जानकारी दिए । विद्युतीकरण उपभोक्ता समितिले घिरिङ गाउँपालिका–१ को पुट्टार, अत्रौली, वैडी, भन्टार, कटहरे, हात्तीडाँडा, घिरिङ गाउँपालिका–२ को गजरकोट, घिरिङ गाउँपालिका–४ को जिताकोट, गड्यौलीटारको करीब एक हजार घरधुरीमा विद्युतीकरणका लागि तीव्र रुपमा काम अगाडि बढाएको जनाएको छ ।

विद्युतीकरण अभियान अन्तर्गत कतै पोल गाडिएको र कतै तार विस्तारको काम भइरहेको समितिका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार घिरिङ गाउँपालिका–४ नयाँटार, गड्यौलीटार, जिताकोट, भाटडाँडा, लोहडाँडा, गलकोटमा मिटर बक्स ल्याउने तयारी गरिएको छ । घिरिङ गाउँपालिका–१ अत्रौली, कटहरे, भन्टारमा पनि विद्युतीकरणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्