कहिले हाजिर होलान भ्रष्टाचार मुद्दाका यी आरोपीहरु ?



काठमाडौं : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छैनन् । गच्छदार मात्रै होइन त्यस प्रकरणका आरोपी हाइप्रोफाइल व्यक्तिहरु पनि अझै फरार छन् । अदालतमा उपस्थित नहुनुलाई कानुनी भाषामा फरार भनिन्छ ।

ललिता निवासको करिब १३३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री गच्छदारसहित चार पूर्व मन्त्री र तीन पूर्व सचिव लगायत ११० जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेपछि विशेष अदालतले प्रतिवादी बनाइएका सबै आरोपीविरुद्ध म्याद जारी गरेको थियो ।

अख्तियारले दायर गरेको मुद्दाको प्रतिलिपीसमेत संलग्न गरी विशेष अदालतले सबै आरोपीलाई उपस्थित हुन २०७६ फागुन २३ गते म्याद जारी गरेको थियो । अदालतले म्याद जारी गरेको केही समयमै कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको थियो । कोरोना त्रास अझै कायमै छ । अदालतले म्याद जारी गरेपनि कोरोनाका कारण स्वयम् अदालत लामो समयसम्म बन्द थियो । आकस्मिक सेवाबाहेकका सबै कामकारबाही बन्द रहेको अदालत आइतबारदेखि भने सञ्चालनमा आएको छ । सर्वोच्च अदालतसँगै देशभरिका अदालत आइतबारदेखि सुचारु भएपछि ललिता निवास प्रकरणका आरोपी गच्छदारसहितका व्यक्ति कहिले हाजिर होलान भन्ने चौतर्फी चासो उत्पन्न भएको छ ।

यी हुन् हाइप्रोफाइल आरोपीहरु
त्यस मुद्दामा पूर्वउपप्रधानमन्त्री गच्छदारसहित पूर्वमन्त्रीहरु क्रमशः चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्तलाई आरोपी बनाइएको छ । जोशीबाहेक सबै तीन जना पूर्वमन्त्री गच्छदार, श्रेष्ठ र पन्तविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँको बिगो मागदावी लिइएको छ । जोशीलाई भने सात करोड आठ लाख ४८ हजार रुपैयाँको बिगो मागदावी लिएको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता कायम गर्दा गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री थिए भने जोशी र श्रेष्ठ विभिन्न समयमा भूमिसुधार तथा व्यवस्था मन्त्री थिए । पूर्वमन्त्री पन्तलाई भने पूर्वसचिवको हैसियतमा विपक्षी बनाइएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सचिव हुँदा पन्तले त्यो निर्णय गरेका थिए ।

यस्तै अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि आरोपी बनाएको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा बस्न्यातले ललिता निवास जग्गासम्बन्धी फाइल सदर गरेका थिए । बस्न्यातउपर पनि नौ करोड ६५ लाख ७६ हजार बिगो कायम गरिएको छ भने पूर्वसचिवहरु दिनेशहरि अधिकारी, मुकुन्दप्रसाद आचार्य र रुद्रकुमार श्रेष्ठसमेतलाई आरोपी बनाइएको छ ।

यस्तै भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ र उनका छोरा कल्याण गुरुङ, भाइ पहलमान गुरुङ, छोरी कामना र बुहारी सरला गुरुङलाई पनि भ्रष्टाचार मुद्दामा आरोपी बनाइएको छ ।

दुई जनालाई उन्मुक्ति
त्यस प्रकरणमा मुछिएका सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई उन्मुक्ति दिइएको थियो । ललिता निवासका जग्गा खरिद गर्ने तत्कालीन अधिवक्ता रेग्मी र पौडेलले आफ्नो नाममा रहेको जग्गा सरकारलाई फिर्ता गर्ने शर्तसहित कागज गरिदिएपछि उन्मुक्ति दिइएको थियो । उनी दुवै जनालाई उन्मक्ति दिइएपछि अख्तियारको चर्को आलोचना भएको थियो ।

कोरोना संकट र अदालतको म्याद
विशेष अदालतले त्यस प्रकरणका सबै आरोपीविरुद्ध २०७६ फागुन २३ गते नै हाजिर हुने म्याद जारी गरेको थियो । तर त्यतिखेर नै कोरोना महामारी देखिएपछि आरोपीसमक्ष अदालतको म्याद पुग्न सकेन । कतिपयले म्याद आए पनि पछि बुझ्ने भन्दै अदालतका तामेल्दार कर्मचारीलाई फर्काइ दिए भने कतिपयले बुझे ।

पूर्वमन्त्री गच्छदार निकट एक कानुन व्यवसायीले भने अदालतको म्याद नै आएको छैन, कसरी हाजिर हुने । तर अब चाँडै म्याद बुझेर हाजिर हुने अवस्था बन्नसक्छ । यद्यपि गच्छदार सानेपास्थित निवासमै छन् । उनी पार्टीको बैठकमा निरन्तर सहभागीसमेत हुँदैआएका छन् भने पार्टीका शीर्ष नेतासँग छलफल संवादमा छन् । आइतबार मात्रै उनी प्रदेश १ स्तरीय पार्टी नेता तथा कार्यकर्तासँग भएको भर्चुअल सम्मेलनमा सहभागी भएका थिए । त्यस सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवा लगायतले सम्बोधन गरेका थिए ।

तीन जना आरोपी अदालतमा हाजिर
आरोपी बनाइएका ११० मध्ये तीन जना आरोपी विशेष अदालतमा हाजिर भएका छन् । तीमध्ये दुई जनालाई धरौटीमा छाडिएको छ भने एक जना साधारण तारेखमा राखिएको छ । आइतबारमात्रै हाजिर भएका तत्कालीन नायव सुब्बा श्रीहरि पुडासैनीलाई ५० हजार धरौटी लिएर छाडिएको छ भने डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेल पनि धरौटीमा छुटेका छन् । पौडेललाई विशेष अदालतले जेल पठाएको थियो तर उनले त्यसविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चले उनलाई पनि धरौटीमै राख्न आदेश दिएको थियो । यस्तै धर्मशोभा शाक्यलाई साधारण तारेखमा राखिएको छ ।

म्याद बुझाउन ताकेता
विशेष अदालतले सबै आरोपीलाई म्याद बुझाउन ताकेता गर्ने जनाएको छ । एक अधिकारीले भने त्यस मुद्दाका कुन कुन आरोपीलाई म्याद बुझाइयो को को बाँकी छन् बुझेर ताकेता गर्ने काम हुन्छ । विशेष अदालतको म्याद सम्बन्धित जिल्ला अदालतमार्फत तामेल गर्न गरिन्छ । त्यसले गर्दा अभियोगपत्रमा उल्लेख भएको ठेगानामा सम्बन्धित जिल्ला अदालतमा पठाएर म्याद तामेल गरिन्छ । कहिलेकाही आरोपी अन्तै बस्ने र ठेगाना अर्के लेखिएपछि म्याद तामेल हुन निकै समय लाग्ने गर्छ, ती अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्