सामूहिक बलात्कारमा परेकी किशोरीले न्याय नपाएपछि आत्महत्या



राजविराज : सामूहिक बलात्कारमा परेकी १७ वर्षीया किशोरीले आत्महत्या गरेकी छन् ।

सोमबार सामूहिक बलात्कारमा परे पनि गाउँको ‘पञ्चेती’ले प्रहरीमा उजुरी दिन रोकेपछि सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी पीडित किशोरीले मंगलबार आत्महत्या गरेकी हुन् ।

यता पीडित किशोरीलाई प्रहरी कार्यालय जान रोकेको आरोपमा तीन जना पञ्चलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयकान्त मण्डल, वासुदेव मण्डल, सत्यनारायण मण्डल रहेको सप्तरी जिल्ला प्रहरीले जनाएको छ ।

यसैगरी बलत्कार गर्ने चार जना आरोपित फरार भएका छन् । किशोरीको मृत्युलगत्तै उनीहरु फरार भएका हुन् । फरार हुनेमा ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल, १८ वर्षीय रञ्जित मण्डल र १९ वर्षीय बब्लु मण्डल छन् ।

पञ्चहरूले पीडित किशोरी र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने ‘फैसला’ सुनाएका थिए । उक्त निर्णयप्रति असन्तुष्ट पीडितले पीडा सहन नसकी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

किशोरीकी आमाको अनुसार घटना सोमबार बिहान घटेको बताइन् । उनले भनिन्–‘छोरी हिलो लागेको रगतपच्छे अवस्थामा रुँदै घर आइन् । हातका चुरा फुटेका थिए । कपाल पूरै फुकेको थियो । धेरै बेरसम्म रोइरहिन् र चार जनाबाट आफू बलात्कृत भएको सुनाइन् ।’

छोरीको पीडामा गाउँलेको सहयोग पाउने अपेक्ष गरेकी थिइन् । तर, त्यसो भएन ।

छोरी बलात्कार भएको घटनाबारे जानकारी दिँदै न्यायको भिख माग्दै आफ्नै गाउँ र समुदायका मुख्य व्यक्तिहरूलाई बोलाइन् ।तर, उक्त भेलाले आरोपितहरूबाट क्षतिपूर्ति भराई दिनुपर्ने र पीडितले कतै उजुरी गर्न नपाउने ‘फैसला’ सुनायो ।

पीडित किशोरीको शव मंगलबार साँझ राजविराज ल्याइएको जिल्ला प्रहरीका इन्स्पेक्टर सन्तोष खड्काले बताए । बुधबार पोस्टमार्टम गर्न धरान लगिने इन्स्पेक्टर खड्काले बताए । जिल्ला प्रहरीबाट खड्का नेतृत्वको टोली अनुसन्धान गर्न घटनास्थल पुगेको थियो ।

यद्यपी मुलुकी अपराध संहिता २०७४ मा पीडितको उमेर हेरेर सजाय तोकिएको छ । १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी भए १० देखि १२ वर्षसम्म कैदको व्यवस्था छ । सामूहिक रूपमा बलात्कार गरे थप पाँच वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

प्रकाशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्