हिमाल आरोहणका लागि बहराइनका राजकुमार अलिफा आज नेपाल आउँदै



काठमाडौं : बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफा आज नेपाल आउँदै छन् ।नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि राजकुमार खालिफासहित १८ जनाको टोली बुधबार नेपाल आउन लागेका हुन् ।

सरकारले राजकुमार खालिफाको टोलीलाई चार्टर उडानमार्फत् काठमाडौं आउन अनुमति दिएको हो । यो आरोहणको जिम्मा नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ ।

सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार उक्त टोलीले चैत–वैशाखको वसन्तकालीन सिजनमै हिमाल आरोहण गर्न चाहेका थिए । तर, कोरोना महामारी र नेपालमा लकडाउनका कारण अभियान शरदकालीन याममा सरेको हो ।

राजकुमारको टोली केही दिन काठमाडौंमा बसेपछि असोज पहिलो साता लुक्ला जानेछ । त्यहाँबाट पदयात्रा गर्दै खुम्बु क्षेत्रको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम तय भएको छ ।

शेर्पाका अनुसार लोबुचे आरोहणपछि हेलिकप्टरबाट यो टोली उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा फर्किने छ ।

यसैगरी राजकुमारको आरोहण दलमा नेपाली आरोही टोली पनि खटाइने छ । टोलीमा सर्वाधिक २४ औं पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, बिना अक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा नेपाली र टासी लाक्पा शेर्पा, संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने छाङ दावा शेर्पा र सानो शेर्पासहितको टोली रहनेछ ।

अध्यक्ष शेर्पाको प्रत्यक्ष संलग्नता हुने यस आरोहणमा करिब १५० जना संलग्न हुने सेभेन समिटले जनाएको छ ।

प्रकाशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्