भूकम्पको कारण सिन्धुपाल्चोक पहिरोको थप जोखिममा



सिन्धुपाल्चोक : बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण सिन्धुपाल्चोक जिल्लामा पहिरोको जोखिम बढेको छ ।

भूकम्पले पहिरोको जोखिम थप बढाएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । त्यसैले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको उनले जानकारी दिए ।

बुधबार बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि हल्लाएको थियो ।

२०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ ।

बुधबार बिहानको भूकम्पले जमिन थप कमजोर बनाएको अनुमान गर्दै प्रजिअ ढकालले पहिरोको जोखिम बढेको कारण आर्मी र एपीएफलाई अलर्ट बस्न भनेका छौ ।

यसैगरी जिल्लामा भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त नभइसकेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले पनि जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताए ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्प गोरखा भूकम्पकै पराकम्प

प्रकाशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्