कुलमानलाई पुनर्नियुक्तिको मागसहित उपत्यकामा प्रदर्शन



काठमाडौंः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्नुपर्ने भन्दै प्रदर्शन भएको छ ।

प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तितरवितर गरेको छ । आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

माइतीघरमा प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरी तितरवितर गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरमा कुनै पनि प्रकारको प्रदर्शन गर्न नदिन भनेको भन्दै प्रहरीले ठाउँ खाली गर्न केही मिनेटको समय दिएको थियो ।

तर प्रदर्शनकारीहरु नहटेपछि पानीको फोहोरा प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीहरु तितरवितर भएका हुन् । घिसिङको भदौ २८ गते ४ वर्षे कार्यकाल पूरा भएको थियो । उनको हिजो औपचारिकरुपमा बिदाई भएको थियो ।

लोडसेडिङ्ग अन्त्य गरी प्राधिकरणलाई नाफामा पुर्याएका उनलाई पुनः नियुक्त गर्न चौतर्फी दबाब छ भने सरकारले कुनै निर्णय गरेको छैन ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्