नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा



चितवनः नारायणगढ-मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ ।

सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टका अनुसार बिहान ५ः ४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै बिहान ११ः०० बजेदेखि सवारी आवागमन शुरु भएको उनले जानकारी दिए । सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम शुरु भएको छ । सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो ।

सो ठाउँमा पाँच वर्षयताको सबैभन्दा बढी पहिरो खसेको कार्यालयले जनाएको छ । मङ्गलबार दिनभर १६ उपकरण प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्