पहिलो पटक पेरिसडाँडामा नेकपा सचिवालयको बैठक बस्दै



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक पहिलो पटक शुक्रबार पेरिस डाँडामा बस्ने भएको छ ।

आज (बुधबार) प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले असोज २ गतेका लागि सचिवालय बैठक तय गरेको हो ।

प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीचको छलफलमा बुधबार महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए । तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको हो ।

यसअघि धेरैजसो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरेको छ । बुधबार बालुवाटारमा भएको छलफलले पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक राख्ने सहमति भएको हो ।

बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने जनाइएको छ । छलफलमा सहभागी नेताका अनुसार असोज २ गते पेरिसडाँडामा हुने छलफलमा मन्त्रिपरिषद पुर्नगठनका विषयमासमेत छलफल हुनेछ । आजको भेटमा रिक्त संवैधानिक नियुक्तिको विषयमा छलफल भएको थियो ।

उनीहरुले यस विषयमा छलफलका लागि प्रतिपक्षी दलसँगको छलफल तय गरेका छन् । प्रचण्ड र ओलीको भेटवार्ताले बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने संकल्प गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोगमा नियुक्तिको विषयमा छलफल हुन लागेको छ ।

केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारीको पदसमेत रिक्त छ । संवैधानिक नियुक्ति र अन्य नियुक्तिको विषयमा सरकार र प्रतिपक्षबीच छलफल हुन लागेको हो ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्