सार्क राष्ट्रका अर्थमन्त्रीहरुको बैठक सम्पन्न



काठमाडौं : सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ भर्चुअल बैठक सम्पन्न भएको छ ।

बैठक परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना भाइरसको कारण विश्वको अर्थतन्त्रसँगै दक्षिण एसियाको अर्थतन्त्रमा पनि असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको धारणा राखेका थिए ।

उनले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्क राष्ट्रहरु क्रियाशील भएर स्रोत परिचालन, सहकार्य र साझेदारी आवश्यक रहेको बताए । सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउँदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्यासमेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व तथा बैठकको अध्यक्षता गरेका थिए ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्