राप्रपामा एकता प्रक्रियाको गाँठो फुक्यो : चिह्न ‘हलो’ र झन्डा ‘गाई’



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र पार्टी एकता प्रक्रिया आएको गतिरोध सुल्झिएको छ । पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद बुधबार एकताको ६ महिनापछि टुंगिएको हो ।

गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिह्न विवाद पटक पटकको अध्यक्षत्रयबीचको छलफलपछि बुधबार टुंगिएको हो । राप्रपा अध्यक्षत्रय पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीचको पटक पटकको छलफल पछि एकीकृत पार्टीको निर्वाचन चिह्न ‘हलो’ र झन्डामा ‘गाई’ राख्ने सहमति भएको बुझिएको छ ।

बुधबार दिउँसो तीन बजे अध्यक्ष राणाको निवासा महाराजगञ्जमा भएको अध्यक्षत्रयबीचको छलफल सकारात्मक रुपमा भएको अध्यक्ष राणाले जानकारी दिए । राप्रपा केन्द्रीय सदस्य जनक पाठकले भने निर्वाचन चिह्नमा ‘हलो’ र झन्डामा ‘गाई’ अंकित हुने गरी अध्यक्षत्रयबीच सहमति भएको दाबी गरे ।

यस्तै राप्र्रपाका नेता श्याम तिमिल्सिनाका अनुसार पनि निर्वाचन चिन्हमा ‘हलो’ र झन्डामा ‘गाई’ अंकित हुने गरी अध्यक्षत्रयबीच सहमति भएको छ । तीन अध्यक्षबीच अझै पनि पार्टीको विधानका विषयमा सहमति जुट्न बाँकी छ ।

थापा पक्षीय नेताहरू आफ्नो पक्षबाट पहिले निर्वाचन आयोगमा बुझाइएको विधानलाई नै एकीकृत पार्टीको अन्तरिम विधान कायम गरिनुपर्ने पक्षमा छन् भने राणा–लोहनी पक्ष त्यसो गर्दा पार्टी एकताको भावनाविपरीत हुने भन्दै त्यसलाई अस्वीकार गर्दै आइरहेका छन् ।

तर थापा पक्षले भने एकीकरणको भावनाअनुरूप हुने गरी सामान्य संशोधन गरेर जान सकिने मत राख्दै आइरहेको छ । सो पक्षले राजासहितको प्रजातन्त्र एकीकरणको भावनाको मूल लक्ष्य रहेकाले सो कुरा पुरानो विधानमा पनि रहेको, अध्यक्ष एक जना रहने भन्नेमा तीन अध्यक्ष भन्ने शब्द राख्ने, केन्द्रीय समिति १ सय ६५ सदस्यीय भन्नेमा ३ सय २७ राख्ने र चिह्नमा हलो राखेर सामान्य संशोधन गरी पुरानै विधानलाई अन्तरिम विधान मान्न सकिने भन्दै आइरहेको छ ।

तर, राणा–लोहनी समूह भने राप्रपामा पार्टी परित्याग नभई एकीकरण गरेर आएको भन्दै एकीकरणकै भावनाअनुरूप हुनुपर्ने अडानमा छन् । राप्रपा नेता मोहन श्रेष्ठले एकताको भावनाअनुरूप नै शीर्ष तहमा छलफल भइरहेको तथा केही विषयमा सहमति जुटेको र केहीमा सहमति नजिक पुगिसकेको भन्दै त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गरिने बताए ।

राप्रपाद्वारा एकताको आधार पत्रलाई व्याख्या र विवादित विषय टुंगाउन ६ सदस्यीय कार्यदलसमेत बनाइएको थियो । कार्यदलमा रहेका नेताहरू नै विषयको व्याख्यामा पुरानै गुटअनुसार पक्ष विपक्षमा उभिएपछि बाँकी विषयमा निर्णय गर्ने अधिकार तीन अध्यक्षलाई नै दिइएको थियो ।

राप्रपाका तीन समूहबीच एकीकरण भइसके पनि केही विषयमा विवाद जारी रहँदा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुंगोमा पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्