‘भात खान’ नपाएपछि २३ वर्षीया गर्भवती महिलाले गरिन् आत्महत्या



काठमाडौं : ‘भात खान’ नपाएपछि ५ महिनाको गर्भवती महिलाले आत्महत्या गरेकी छन् । भात पकाउने विषयमा सासू–बुहारीबीच मनमुटाव हुँदा गुलरिया नगरपालिका–३ खैरीकी २३ वर्षीया नीलम गोडियाले घरभित्रै झुण्डिएर आत्महत्या गरेकी हुन् ।

गोडिया परिवार खेतीपाती र मजदुरीमा निर्भर छ । दैनिक काम गरेर छाक जुटाउने गरेका थिए । यही क्रममा रोटीले छाक टार्ने गरेकी उनले भदौ १६ गते भात खाने इच्छा गरेकी थिइन् । तर, भात पकाउने विषयमा सासू–बुहारीबीत एकमत नभएपछि नीलमले झुण्डिएर आत्महत्या गरेको माइती पक्षको दाबी छ ।

‘घरमा करिब १५ किलो चामल थियो । कहिलेकाहीं मात्रै भात खाने र दिनहुँ रोटीले गुजारा गर्दै आइरहेका थियौं । आमाले बुहारीका लागि मात्र भात किन पकाउने भनेपछि त्यस दिन घरमा भात पाकेन,’ निलमका श्रीमान् ओमकारले भने–‘थोरै चामल लगेर पकाउँछु भनेकी थिइन् । आमासँग अनुमति लिएकी हुन् ।’

निलमका श्रीमान् ओमकारका अनुसार त्यसपछि भात खानकै लागि नीलमले सापटीका रूपमा एक किलोजति चामल माइतीमा लगिन् । घरबाट ५० मिटरको दूरीमा छ उनको माइती घर ।

‘एक किलोभन्दा धेरै चामल लगेको भन्दै सासू र बुहारीबीच फेरि भनाभन भयो । त्यसपछि नीलमले लगत्तै आफ्ना बाबु रमेशसँग चामल मागेर सासूलाई फिर्ता गरिदिइन्,’ओमकारले भने ।
यता सासू लक्ष्मीले बुहारीले चामल माइत लैजाने बेला आफू घरमा नरहेको र बुहारीसँग झगडा नभएको दाबी गरिन् ।

‘बुहारीले के कारणले आत्महत्या गरिन्, बुझ्न सकिनँ । रोटी खाने भनिए पनि त्यस दिन नीलमले आँगनमा मकै भुटेर सबैलाई बाँडिन् र घरभित्र पसिन्,’उनले भनिन्–‘धेरै बेरसम्म उनी बाहिर नआएपछि कोठाभित्र गएर हेर्दा झुण्डिएको अवस्थामा थिइन्’

नीलमले आत्महत्या गर्दा कोठाका झ्यालढोका खुलै थिए । झ्यालढोका नलगाएकाले पनि आत्महत्या गरेको मेसो नपाएको परिवारको भनाइ छ ।

यद्यपी पोस्टमार्टम रिपोर्टबाट भने आत्महत्या गरेको पुष्टि भएको वडाध्यक्ष राजकुमार यादवले बताए । ५ वर्षअघि विवाह गरेका ओमकार र नीलमका दुई वर्षकी छोरी छन् ।

प्रकाशित : असोज १, २०७७

प्रतिक्रिया दिनुहोस्