लुम्बिनी बौद्ध विश्वविद्यालय : घरघरमा परीक्षाको अवधारणा



लुम्बिनी : विद्यालय तहको एसईईको परीक्षामा विद्यार्थी सहभागी नभइकनै आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशन भयो । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र संस्कृत विश्वविद्यालयले अनलाइन माध्ययमबाट पठनपाठन गराए पनि विद्यार्थीको परीक्षा लिन सकेका छैनन् र अहिलेसम्म अन्योलको अवस्था छ ।

कोरोना महामारीको सङ्क्रमण फैलिन सक्ने डरले विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानले परीक्षा गर्न नसकेर शैक्षिकसत्र नै हटाउने कि आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशन गर्ने भन्नेमा अन्योल भइरहेका बेला लुम्बिनी बौद्ध विश्वविद्यालयले भने घरघरमा परीक्षा कार्यक्रमअन्र्तगत आफ्ना विद्यार्थीको परीक्षा सञ्चालन गरेको छ ।

विश्वविद्यालयले स्नातकोत्तर र स्नातक तहको परीक्षा आइतबारदेखि सञ्चालन गरेको हो । स्नातकोत्तर तहमा सङ्गीत र पुरातत्व विषयका परीक्षा सञ्चालन भइरहेका छन् । यस्तै स्नातक तहमा कानून, बौद्धदर्शन र भोट विषयमा परीक्षा भइरहेका छन् । कानूनतर्फ मात्रै पहिलो सेमेष्टरका ८५ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षामा शतप्रतिशत विद्यार्थीको सहभागिता छ ।

विश्वविद्यालयले घरघरमा परीक्षाको अवधारणानुसार परीक्षा सञ्चालन गरेको विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्य बताउँछन् । उनले भने, हामीले धेरै अध्ययन र अनुसन्धान गर्यौँ र घरघरमा परीक्षा ‘डोर टु डोर परीक्षा’ को अवधारणा लिएका हौंँ ।’

उनका अनुसार क्लष्टर छुट्याई आइपर्न सक्ने समस्याको विश्लेषण गरेर परीक्षा केन्द्र तोकी घरघरमा परीक्षा सञ्चालन गरिएको छ । ‘यस्तो महामारीका समयमा परीक्षामा सहभागी हुने विद्यार्थी, शिक्षक, कर्मचारी कसैमा पनि समस्या आइहालेमा के गर्ने भन्ने तयारीका साथ परीक्षा सञ्चालन गरेका छौं ।’ उनले भने, ‘हामीले अस्पताल र मुख्य राजमार्ग नजीक भएको, खुला र ठूला भवन भएको ठाउँलाई केन्द्र तोकेका छौंँ । विद्यार्थीहरु जहाँं छन्, त्यहीँ बसेर परीक्षा दिने वातावरण बनाएका छौँ ।’

स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यार्थी जहाँ छन् त्यहीँ नै परीक्षा सञ्चालन गर्दा केही खर्चिलो भए तापनि विश्वविद्यालयका लागि उपलब्धिमूलक रहेको डा आचार्यले बताए । उनले भने, ‘एकै परीक्षा केन्द्रमा हुन सक्ने परीक्षा पाँच जिल्लाका आठ वटा सेन्टरमा लिइरहेका छौंँ ।’

लुम्बिनी, काठमाडौँ, कपिलवस्तु, नवलपरासी, बुटवल, अर्घाखाँची र हुम्लामा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले केही दिनमै बिबिटिटिएमको परीक्षा गर्ने गरी सूचनासमेत प्रकाशन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्