विराटनगरमा प्रदेश १ को संसद भवन शिलान्यास



विराटनगर : प्रदेश १ को प्रदेशसभा भवन आज (बिहीबार) शिलान्यास गरिएको छ ।

विराटनगरमा हाल रहेकै स्थानमा भवन निर्माण थालनी भएको हो । प्रदेशसभा विराटनगर बाहिर लैजाने भन्दै नेकपाका एकथरी सांसदले लविङ गरी हस्ताक्षर अभियान चलाएका थिए ।

तर अब विवाद अन्त्य भएको छ । जिल्ला समन्वय समितिको भवनमा बैठक संचालन हुँदै आएको थियो । प्रदेशसभाको अब बस्ने सातौं बैठक भने नयाँ सुविधासम्पन्न भवनमा संचालन हुने बताइएको छ ।प्रदेश सरकारले विनियोजन गरेको ५ करोड रुपैयाँ बजेटमध्ये २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ लागतमा निर्माण हुनेछ ।

भवनको शिलान्यास प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले गरेका छन् । प्रदेश १ को राजधानी तोक्दा राजधानी विराटनगर भए पनि राजधानीका संरचना विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासको क्षेत्रमा रहने उल्लेख थियो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रि-फ्याबको भवन बनाउन लागिएको बताएका छन् ।

भवन निर्माणको ठेक्का धरानको स्वामी नारायण निर्माण सेवा कम्पनीले पाएको छ । यो ६ महिनाभित्र निर्माण पूरा हुने प्रदेशसभा सचिव गोपाल पराजुलीले बताएका छन् ।

प्रकाशितः १ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्