इलामका युवाले बनाए रोबोर्ट, कोरोना अस्पतालमा प्रयोग गरिने



मंगलबारे : इलामका युवाहरुले यन्त्र (रोबोर्ट) निर्माण गरेका छन्। पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन्। निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ।

कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोर्टले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोर्ट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए। उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोर्ट अस्पतालमा नै प्रयोग गरिनेछ।

कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबर्टको निर्माण गरिएको हो। रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोर्टमार्फत प्राप्त हुने उनले बताए। सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोर्टबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ।

इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोर्टको निर्माण गरेका हुन्। फरकफरक विषयमा काठमाडौंमा अध्ययन गर्ने उनीहरूले काठमाडौंमासमेत विभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ।

रोबोर्टको प्रयोगले चिकित्सक र नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ। रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोर्टले सुन्ने र काम गर्ने जनाइएको छ। साथै रोबोर्टबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोर्टलाई प्रयोग गर्नसक्ने जनाइएको छ।

रोबोर्ट निर्माणको शुरुआती अवस्थामा नै भएकाले करिब रु एक लाख १० हजार खर्च भएको छ। रोबोर्ट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले उक्त रकम सहयोग गरेका उनले बताए। युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफू सहयोग गरेको समाजसेवी खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्