सामूहिक बलात्कारका दुई मुख्य आरोपी पक्राउ



राजविराज : एक किशोरीमाथि सामूहिक बलात्कार घटनाका दुई मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार बलात्कारमा संलग्नमध्ये सुमनकुमार मण्डल र रञ्जित मण्डललाई बिहीबार राति नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

स्रोतका अनुसार घटनापछि भारत गएर बसेका उनीहरूलाई भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको हो । ‘भागेर भारत गएर बसेका थिए, बिहीबार राति नेपाली सीमा क्षेत्रमा आएको खबर आएपछि पक्राउ गर्‍यौं,’ प्रहरी निरीक्षक खड्काले भने । घटनाका अन्य दुई आरोपी विष्णु मण्डल र धर्म मण्डल अझै फरार छन् ।

भदौ २९ गते खेत जाँदै गरेकी डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी किशोरीलाई भदौ २९ गते चार जनाले बलात्कार गरेका थिए । घटनाबारे प्रहरीमा उजुरी नगर्न भन्दै स्थानीय पञ्चहरूले धम्क्याएपछि उनले सोमबार राति झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

प्रहरीले पञ्चहरूमध्ये जयकान्त मण्डल, सत्यनारायण मण्डल र वासुदेव मण्डललाई मंगलबार नै नियन्त्रणमा लिएको छ । रकम लेनदेनमा घटना सामसुम पार्न प्रयास गरेका उनीहरूले पञ्चहरूको भेला डाकी किशोरी र उनको परिवारलाई प्रहरीमा उजुरी गर्न नपाउने निर्णय गरेका थिए । पञ्चायतीमा संलग्न अन्य पञ्च भने फरार छन् । उनीहरू सबैको खोजी भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्