तनहुँमा ५० प्रतिशत मात्र दूध खपत



तनहुँ : तनहुँमा ५० प्रतिशत दूध खपत घटेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्थित होटेल व्यवसाय बन्द भएसँगै दूधको खपतमा कमी आएको हो ।

जिल्लामा दैनिक तीन हजार लिटर दूध सजिलै खपत हुने गरेको भए पछिल्लो समय कोरोना महामारीका कारण होटल व्यवसाय बन्दभएपछि एक हजार पाँच सय लिटर मात्र खपत भइरहेको जिल्ला दुग्ध उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार अहिले दैनिक तीन हजार लिटर दूध सङ्कलन भइरहेको छ । जिल्लामा खपत भएर बाँकी रहेको करिब एक हजार पाँच सय लिटर दूध पोखरास्थित सुजल डेरीमा पठाउने गरिएको छ ।

दूधको खपतमा कमी आएपछि सङ्घले घीउ, पनिर, नौनीलगायत दूधका परिकार बनाएर विक्री गर्दै आएको सङ्घका सचिव राजु भुजेलले बताए । सङ्घले जिल्लाको व्यास, शुक्ला गण्डकी र भानु नगरपालिका तथा म्याग्दे, आँबुखैरेनी र बन्दिपुर गाउँपालिकाबाट दूध सङ्कलन गर्ने गरेका छन् । खपतपछि सङ्कलन गरिएको दूधलाई चिलिङ भ्याटमा राखेर चिस्यान गरिने र दुग्धजन्य परिकार बनाएर विक्री गर्ने गरेको उनले बताए ।

गोरखा, लमजुङ र तनहुँ जिल्लामा उत्पादन गरिएको दूध सङ्कलन गर्ने गरी व्यास नगरपालिका–११ रानीगाउँस्थित सङ्घको आफ्नै भवन छ । विसं २०५३ मा भाडाको घरमा पाँच वटा दुग्ध सहकारी संस्थाबाट स्थापना गरिएको यो सङ्घमा अहिले १८ सहकारी संस्था आवद्ध भैसकेको सङ्घका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । सङ्घले किसानबाट प्रतिलिटर ५६ देखि ५८ रुपैयाँमा दूध खरिद गर्ने गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्