नेपालमा रेल आयो, तत्काल सञ्चालन नहुने



जनकपुरधामः रेल विभागले तत्काल जयनगर-जनकपुरधाम-कुर्थासम्म सञ्चालनका लागि किनेको नेपालको राष्ट्रिय झण्डा अंकित २ वटा रेल सेट आज (शुक्रबार) जनकपुरधाम ल्याइएको छ ।

६ वर्षको लामो प्रतिक्षा पछि जयनगर-जनकपुरधाम-कुर्थासम्म रेल गुडाउनका लागि दुई सेट रेलको बोगी तथा ४ सेट इन्जिन ट्रायलका लागि जनकपुरधाम ल्याइएको हो ।

बिहिबार साँझ भारतको जयनगर आइपुगेको नेपाल रेल्वे आज दिउँसो १ बजेर ५५ मिनेटमा जनकपुरधामस्थित प्लेटफर्ममा पुगेको छ । यसअघि रेलको दूबै सेट तथा इन्जिन बिहारको हाजीपुर स्टेशनमा राखिएको थियो ।

एक अर्बको लागतमा किनिएको सो दूबै सेट रेलको ट्रायल गरिएको तथा चाँडै नै सर्वसाधारण यात्रुका लागि समेत रेल सञ्चालनमा ल्याउने तयारी भईरहेको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । जनकपुरमा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको उनले बताए ।

दूबै सेट रेल जनकपुरधाम आईसकेपनि उदघाटनको कुनै कार्यक्रम नरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । उनका अनुसार रेल सेटको सुरक्षाका लागि फेरी भारतको जयनगर स्टेशन नै फर्किनेछ ।

दूबै रेलको सेटलाई अत्याधुनिक रुपमा डिजाइन गरिएको छ । भारतमा चल्ने इन्टर सिटी एक्सप्रेस जस्तै डिजाइन गरिएको महानिर्देशक मिश्रले बताए । विभागका महानिर्देशक मिश्रले नयाँ रेल डिजेलबाट चल्ने जानकारी दिए । दूबै रेल सेटमा २-२ वटा इन्जिन लगाइएको छ । अगाडी पछाडी दूबै तर्फ इन्जिन लगाइएकोले ओहोर दोहोर गर्नका लागि इन्जिन फेर बदल गर्नुपर्ने झन्झट नरह्ने उनले जानकारी दिए ।

डेढ महिनापश्चात सञ्चालनमा ल्याउने योजना
जनकपुरधाममा ट्रायलका लागि दुई सेट रेल ल्याएपनि अहिले संचालनमा ल्याउने कुनै योजना नरहेको रेल विभागले जनाएको छ । कोरोना संक्रमणको त्रासका कारण अहिले रेल सर्वसाधारण यात्रुका लागि संचालनमा ल्याउनु घातक रहेको महाप्रबन्धक गुरु भट्टराईले बताए । उनले भने,‘३ सय यात्रु यात्रा गर्ने विमानको सुरक्षाका लागि विभिन्न तयारी गर्नु पर्छ भने रेलमा हजारभन्दा बढी यात्रु यात्रा गर्नेछन् त्यसैले अहिले नै यकिन समय भन्न सकिदैंन । यात्रु तथा रेलको सुरक्षाको सम्पूर्ण तयारी पूरा भएपछि मात्रै रेल्वे संचालनमा ल्याउने हाम्रो योजना छ ।’

यदि कोरोना संक्रमणले बाधा व्यवधान गरेन भने डेढ महिना भित्रै सर्वसाधारण यात्रुका लागि समेत रेल्वे संचालनमा ल्याउने योजना रहेको भट्टराईले जानकारी दिए ।

सर्वसाधारणमा उत्साह
नेपाल रेलको ब्रोडगेज रेलको नयाँ इन्जिन आईरहेको समाचार सुने लगत्तै शुक्रबार बिहानैदेखि सर्वसाधारणहरुमा उत्साह देखिएको थियो । हजारौको संख्यामा सर्वसाधारणहरुको भीड देखिएको थियो । स्थानीय हासिम नदाफले भने,‘नेपाल रेल फेरी संचालनमा आउने भएपछि हामी धेरै उत्साहित छौँ । आफ्नो जिन्दगीमा कोइलाबाट चल्ने ट्रेन देखे, स्टिम इन्जिनबला ट्रेन पनि देखे अब आधुनिक ट्रेन आउने भएपछि निक्कै उत्साहित छु ।’

त्यस्तै स्थानीय राजेश कुमार भगतले वैदेशिक रोजगारमा गएको छोरो घर फर्केपछि जस्तो खुशी लाग्छ त्यस्तै खुशी हामीलाई लागिरहेको बताए । उनले रेल्वे संचालनमा आएपछि हामीलाई फेरी रोजगारीको श्रृजना हुनेमा आफू विश्वस्त रहेको बताए ।

दुई सेट रेल आउँदा स्थानीयहरुले स्वागत गर्नका लागि हजारौँको संख्यामा जनकपुरधामस्थित प्लेटफर्ममा जम्मा भएका थिए ।

व्यपारीलाई समेत राहत पुग्ने विश्वास
नेपाल रेल्वे सञ्चालन भएपछि अब व्यापारीलाई समेत राहत पुग्ने विश्वास लिइएको छ । रेल सञ्चालन भईसकेपछि जनकपुरका व्यापारीहरुमा आर्थिक समृद्धिको सपना पलाउन थालेको छ ।
रेल सुरु भएपछि भारतको विभिन्न ठाउँबाट मालसमान ल्याउनमा सहज हुनुका साथै वर्षैंदेखि ठप्प भएको व्यापार समेत फस्टाउने यहाँका व्यापारीहरुको भनाई छ । रेल सेवा सञ्चालनमा आएपछि व्यापारीहरुको व्यापार बढनुको साथै बजार क्षेत्र पनि फस्टाउने र स्वरोजगारीको अवसरहरु सिर्जना हुने उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिव शंकर साह (हिरा) को भनाई छ ।

उनले भने,‘रेल सेवा सञ्चालनमा आएपछि जनकपुरको विकास पर्यटनसंगै व्यापार समेत फस्टाउँछ र त्यसबाट व्यपारीहरुको अवसर सिर्जना हुने छ ।’ जनकपुरमा धार्मिक तथा ऐतिहासिक सम्पदाहरु भएकोले भारतबाट ठूलो संख्यामा पर्यटक आउने र त्यसबाट राजश्वमा समेत योगदान पुग्ने हिराले बताए ।

तत्काल ३५ किलोमिटर रेल मात्रै चल्ने
वि.सं. १९९४ सालमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनीले नेपालको जंगलबाट काठ लानका लागि रेल्वे लाइनको विस्तार गरेको थियो । त्यो समयमा कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो । पछि भारत सरकारले १८ वटा बगी सहित वाष्प इन्जिन सहयोग गरेपछि २०५१ सालदेखि स्टीम इन्जिनयुक्त रेल संचालनमा आएको थियो । पछि नेरोगेज रेललाइनलाई विस्तार गर्नका लागि २०६१ साल माघ महिनादेखि रेल सेवा बन्द गरिएको थियो ।

नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको रेललाइनमा पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्ने योजना मात्रै रहेको महानिर्देशक बलराम मिश्रले बताए । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर-कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेकोे छ ।

जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम पनि चाँडै सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ ।

रेल्वेका विशेषता
जयनगर-जनकपुर-सितापुर भङ्गहा–बर्दिबास रेलमार्गमा यात्रु रेल सेवा सञ्चालनका लागि नेपाल सरकार मन्त्रीपरिषदको २०७५ चैत ४ गतेको निर्णय अनुसार रेल विभाग तथा भारत सरकार अन्तर्गतको कोकन रेल्वे कर्पोरेशन लिमिटेड बिच “जि टु जि” प्रक्रियाबाट भ्याट बाहेक नेपाली रुपैयाँ ८३ करोड ९३ लाख ६० हजारमा २ थान १६०० एचपि डेमो ट्रेन सेट खरीद सम्बन्धी करार सम्झौता सन् २०१९ मई १० तारिखमा भएको थियो ।

– प्रत्येक डेमो ट्रेन सेटमा ५ वटा कारहरु रहेका छन् ।
– १ ड्राइभिङ्ग पावर कार
– १ ड्राइभिङ्ग ट्रेलर कार
– २ जेनेरल ट्रेलर कार
– १ एसि ट्रेलर कार
– एउटा ट्रेन सेटमा एक पटकमा करीव १३०० यात्रुहरु बोक्ने क्षमता रहेको छ ।
– ट्रेन सेटहरुको डिजाइन स्पीड ११० किलोमिटर प्रति घण्टा रहेको छ ।
– जयनगर–जनकपुर–कुर्था रेल सेवा निकट भविष्यमै सञ्चालन हुने योजना रहेको छ । हाल प्राप्त २ थान डेमो ट्रेन सेटहरु रेल विभागबाट नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण भई सोही कम्पनी मार्फत रेल सेवा सञ्चालन हुने छ ।

– नेपाल रेल्वे कम्पनीले रेल सेवा सञ्चालनका लागि आवश्यक जनशक्तिको सम्बन्धमा आवश्यक प्रक्रिया समेत अगाडी बढाईसकेको छ ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्