‘यसपल्ट बेंग्लोरले आईपीएल जित्ने सम्भावना धेरै छ’



टेस्ट क्रिकेटमा विराट कोहलीको सफलता प्रतिशत ६० प्रतिशत छ । यस्तोमा उनी भारतीय टेस्ट इतिहासकै सबैभन्दा सफल कप्तान हुन् । सेतो बलमा उनको सफलता कम्तीको छैन, तर उनले यही सफलता भने रोयल च्यालेन्जर्स बेंग्लोरका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोहोर्‍याउन सकेका छैनन् । यसको कारण के हुन सक्छ त ?

बेंग्लोरेका पूर्व प्रशिक्षक रे जेनिङ्सले यसको कारण खोज्ने प्रयास गरेका छन् । उनका अनुसार कोहलीले निर्णायक अवसरमा गलत खेलाडी रोजे र तिनको समर्थन गरे । यसै कारण उनी अहिलेसम्म आईपीएलको उपाधि सुखबाट टाढा नै छन् ।

जेनिङ्सले सन् २००९ देखि २०१४ सम्म बेंग्लोर टिमलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षकका रूपमा उनको कप्तानसँग खेलाडी रोज्ने बेला विमति हुने गर्थ्यो । कोहली आफ्नो बेग्लै योजना बनाइरहेका हुन्थे । जेनिङ्स भन्छन्, ‘मैले टिम सम्हाल्दा पनि त्यतिबेला २५ देखि ३० खेलाडी उपलब्ध हुने गर्थ्यो ।

प्रशिक्षकको काम यिनै खेलाडीलाई तयार पार्ने हुन्थ्यो । धेरै खेलाडी हुँदा प्लेइङ ११ को टिम बनाउँदा धेरै विचार गर्नुपर्ने हुन्छ । कोहली यही बेला माथ खान्छन् र गलत खेलाडी रोज्छन् । तर, यसका लागि उनलाई दोष दिन मिल्दैन । मेरो र उनको मत प्रायः मिल्दैनथ्यो ।’

उनको नेतृत्वमा बेंग्लोरले प्रतियोगितामै सबैभन्दा राम्रो खेलेको थियो । दुई अवसरमा फाइनल प्रवेश गरेको थियो । उनी आईपीएल टिमको नेतृत्व सम्हाल्ने धेरै अर्थमा फरक अनुभव रहेको मान्छन् । दक्षिण अफ्रिकी प्रशिक्षक भन्छन्, ‘आईपीएल सर्वथा फरक प्रतियोगिता हो, यो खाली ६ सातामात्र चल्छ, यसबीच धेरै थोक हुनसक्छ । कसैले यो कम समयमा खेल्न नै सक्दैनन् ।’

अब भने कोहली परिपक्व भएको मान्छन्, जेनिङ्स । भन्छन्, ‘अब कप्तानका रूपमा उनको प्रदर्शनमा धेरै सुधार आएको छ । विश्वास छ, उनले ढिलोचाँडो उपाधि जित्ने छन् । उनी यसपल्टको संस्करणमा सहभागी भएको बेंग्लोर यसअघिका टिमभन्दा राम्रो भएको मान्छन् र दाबी गर्छन्, ‘यसपल्ट बेंग्लोरले आईपीएल जित्ने सम्भावना धेरै छ ।’

प्रतिक्रिया दिनुहोस्