कर्मचारीलाई लाग्यो चुनाव



काठमाडौं : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु भएको छ। यही असोज २४ गते हुने निर्वाचनका लागि देशभर १ सय ७ निर्वाचन कार्यालय स्थापना भएका छन्।

मतदाता नामावली संकलन अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले जानकारी दिए। महालेखा र महान्यायाधिवक्ताको कार्यालयका मतदाता नामावली प्राप्त भइसकेको उनले बताए। निजामती कर्मचारी ऐन २०४९ र नियमावली २०५० अनुसार निर्वाचनको तयारी भएको हो।

तीन वटा संगठन निर्वाचनको प्रचारप्रसारमा लागेका छन्। नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), नेपाल निजामती कर्मचारी युनियन (संघ) चुनावको तयारीमा जुटेका हुन्। तर, नेपाल मधेसी निजामती कर्मचारी मञ्चलगायत भने विरोधमा उत्रिएका छन्। थ्रेड होल्डका कारण सहभागी हुन नपाउने भएपछि मधेसी कर्मचारी मञ्च विरोध जनाएको हो।

अघिल्लो निर्वाचनमा १० प्रतिशत मत ल्याउने संगठन मात्रै निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले मतदान गर्न पाउनेछन्। कार्यालय प्रमुखबाहेक संघ, प्रदेश, स्थानीय तहमा समायोजन भएका श्रेणीविहीनदेखि आठौं तहका अधिकृतस्तरसम्मका कर्मचारी मतदान सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा, सर्त र सुविधाको कानुन नबनेकाले समायोजन भएका कर्मचारी मतदानमा सहभागी हुन पाउने जनाएको छ। तर २०७५ पछि लोकसेवा आयोगबाट छनोट भई स्थानीय तहमा पदस्थापना भएका ९ हजार १ सय ६३ कर्मचारी भने मतदानबाट वञ्चित हुने छन्।

संसद् र स्वास्थ्य सेवाका कर्मचारी निर्वाचनमा सहभागी हुन नपाउने प्रमुख निर्वाचन अधिकृत पौडेलले बताए। समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई निर्वाचनमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा बहस भएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन र कानुन तथा संसदीय मामिला मन्त्रालयको रायमा निर्वाचन कार्यालयले यो विषयमा नीतिगत निकास दिएको पौडेलले बताए। ‘कानुन र संघीय मामिलाले टुंग्याउन सकेको थिएन, उनीहरूले टुंग्याउन नसकेको विषयलाई मैले टुंग्याएको छु’, उनले भने। स्वास्थ्यसेवाका कर्मचारीको हकमा विभेद गरिएको नेपाल स्वास्थ्यकर्मी संघको पूर्वसहअध्यक्ष ओमप्रसाद उपाध्यायले बताए। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्