पेरिसडाँडामा पहिलो पटक नेकपा सचिवालय बैठक बस्दै, ओली पनि सहभागी हुने



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार पेरिसडाँडामा बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाडामा बस्न लागेको हो।

बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने भएको छ। विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरिसकेको छ।

सोहीअनुसार एजेण्डाकै रुपमा मन्त्रिमण्डल पुनर्गठनबारे सचिवालय बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार सरकारका काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सचिवालय बैठकले प्रधानमन्त्रीलाई सुझाव दिने छ ।

संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषयमा समेत सचिवालय बैठकमा छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिए । अहिले अख्तियारलगायत संवैधानिक निकायमा ४२ पद रिक्त छन्।

उनका अनुसार सांगठनिक एकताका विषयमा समेत सचिवालय बैठकमा एजेण्डाको रुपमा पेश भई छलफल हुने भएको छ। पार्टी एकताका बाँकी काम असोजभित्र पुरागर्ने स्थायी कमिटीले निर्णय गरेपछि सचिवालय बैठकमा छलफल हुन लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्