निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता



चितवन : निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता यहाँ व्यक्त गरिएको छ । साउन २८ गतेबाट जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ । सर्वसाधारणले प्रशासनको आदेश पूर्ण पालना नगर्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरिएको हो ।

जिल्लामा सङ्क्रमित बढे पनि व्यापार व्यवसाय चलाउनुपर्छ भन्ने आवाज चर्को बन्दै गएपछि प्रशासनले केही खुकुलो गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले समाजभन्दा प्रशासक अलग्गै जान नसक्ने भए पनि समाजको आवाजलाई सम्बोधन गर्दै निषेधाज्ञा खुकुलो बनाइएको बताए । सरकारले गरेको अनुरोधलाई सर्वसाधारणले पूर्ण पालना गरेमा सङ्क्रमण फैलिन नपाउने उनको भनाइ छ । सर्वसाधारणले वेवास्ता गरेमा भने सङ्क्रमण बढ्न सक्ने चिन्ता उनले व्यक्त गरे ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी छ महिनाको लकडाउनको परीक्षणपछि नयाँ ढङ्गको परीक्षण शुरु भएको बताउँछन् । तिवारीले भने, “एउटा चरणमा पूर्ण लकडाउन गरियो । समुदायमा जानबाट रोकिएको पनि हो । बीचमा लकडाउन केही खुकुलो हुँदा समुदायमा फैलियो ।” पूर्ण लकडाउन गरेरै सङ्क्रमण रोक्न सकिन्छ भन्ने हाम्रो आवाज मधुरो बन्दै गएको र अब खोल्नुपर्छ भन्ने आवाजले जित्दै गएपछि खुकुलो भएको उनको कथन छ । अब कोरोनासँग ‘लिभिङ टुगेदर’ गरेरै अघि बढ्नुपर्ने उनले सुझाए ।

स्वास्थ्य कार्यालयले पनि अब सङ्क्रमण रोक्न भन्दा पनि मृत्यु हुन नदिनेतर्फ पहल गर्ने उनको भनाइ छ । तिवारीले भने, “अब हामी सिकिस्त बिरामी र लक्षण भएकाहरुको व्यवस्थापनमा लाग्छौं ।” समुदायस्तरमा फैलिएको सङ्क्रमणले प्रतिरोधात्मक क्षमता पनि बढाउँदै लगेको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी बताउँछन् । उनले भने, “कतिपयलाई थाहै नपाई सङ्क्रमण भएर निको भइसक्यो, कतिपयलाई कोरोना सामान्य रोग हो भन्ने मनोबल बढेको छ ।”

समाजमा लक्षण नदेखिएका सङ्क्रमित बढ्दै जाँदा त्यसले जोखिम कम हुँदै जाने उनको भनाइ छ । डा अधिकारी अहिले ६८ प्रतिशत लक्षण नभएका र ३२ प्रतिशत लक्षण भएका सङ्क्रमित रहेको बताउँछन् । उनका अनुसार तीन प्रतिशत सङ्क्रमित मात्रै गम्भीर बिरामी भएका छन् । लकडाउन खुकुलो हुँदै जाँदा लक्षण नहुने सङ्क्रमित बढ्दै जाने उनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्