विपन्न नागरिकमा थप लगानी गर्न आग्रह



सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय वाणिज्य बैंकलाई विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउने खालका कर्जा प्रवाहका लागि आग्रह गरेका छन् । बैंकको वीरेन्द्रनगर शाखाको आज उद्घाटन गर्दै उनले तल्लो वर्गका नागरिकले बैंकिङ लाभबाट वञ्चित रहेको बताए ।

उनले मुनाफा मात्रै नभई जोखिमयुक्त क्षेत्रमा लगानी गरेर नागरिकको जीवनस्तरमा सुधार ल्याउने कर्जामा लगानी गर्न सुझाव दिए । “बैंकिङ क्षेत्रमा वाणिज्य बैंकको आफ्नै गौरवमय इतिहास छ, मुनाफा र प्रशस्त प्रतिष्ठा आर्जन गरेको छ”, मन्त्री ज्वालाले भने, “अब बैंकले मुनाफामात्र नभई सर्वसाधारण नागरिकको मन जित्न गुणस्तरीय तथा प्रभावकारी सेवा प्रवाहमा पनि ध्यान दिन जरुरी छ ।”

प्रदेश राजधानी वीरेन्द्रनगरमा सेवाग्राहीको चाप बढेपछि बैंकले कर्णाली प्रदेशमा १९औँ शाखाका रुपमा यहाँ शाखा सञ्चालनमा ल्याएको हो । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव भद्र भण्डारी, बैंकका प्रदेश प्रमुख रामबहादुर थापा, सुर्खेत शाखाप्रमुख लीलाराम ढुङ्गाना लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्