आन्तरिक उडानमा भाडा नबढ्ने



काठमाडौं : आन्तरिक वायुसेवा कम्पनीहरुले भाडा नबढाउन भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत मात्र सिटमा यात्रु बोक्न वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो ।

तर, वायुसेवा कम्पनीले भने भाडा नबढाउने तर पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने अडान राखेका थिए । यद्यपी भोलि (सोमबार) अर्थात असोज ५ गतेबाट नियमित आन्तरिक उडान शुरु हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान शुरु हुने जानकारी दिएको छ । तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याका बारेमा केही उल्लेख छैन ।

मन्त्रालयका अनुसार यात्रुहरुको भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् ।

यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए । तर, पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो ।

यता वायुसेवा संचालक संघका सदस्य प्रज्वल थापाले साविकको तुलनामा हवाई भाडा बढी नहुने जानकारी दिए ।

यद्यपी अब आन्तरिक हवाई यात्राका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडि हेल्थ डिक्लिरेसन फारम भर्नु पर्नेछ । सो फारम सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनु पर्ने छ भने यात्राका क्रममा सबै यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने थापाले बताए ।

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्