सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार



बागलुङ : बागलुङ नगरपालिकाको सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधारभूत स्वास्थ्य सेवाको नीतिअनुसार नगरका १४ वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको हो ।

सामान्य औषधि उपचार र परामर्शका लागि अस्पताल नै धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने प्रयासस्वरुप स्वास्थ्य सेवा वडाबाटै प्रदान गर्न थालिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

हालसम्म १४ मध्ये चार वडामा स्वास्थ्य चौकी थिएन । बागलुङ बजारभित्र पर्ने १, २, ३ र ४ नं वडामा स्वास्थ्य सेवाको पहुँच नहुँदा धौलागिरि अस्पताल आउनुपर्ने बाध्यता थियो । सामान्य प्रेसर नाप्न र सिटामोल खानकै लागि चार वडाका नागरिकलाई अस्पताल पुग्नुपर्ने समस्यालाई दृष्टिगत गरी सम्बन्धित वडामै ४१ प्रकारका औषधिसहित आधारभूत स्वास्थ्य सेवा शुरुआत गरिएको नगरप्रमुख प्रमुख जनकराज पौडेलले जानकारी दिए । गर्भवती परीक्षण, खोप तथा परामर्श प्रदान गर्न थालेपछि वडावासीलाई थप सहज भएको छ ।

“गत आर्थिक वर्षको कार्यक्रम भएकाले दरबन्दीअनुसार स्वास्थ्यकर्मी गत चैतमै भर्ना गरिएको थियो”, उनले भने, “चैतबाटै कोरोना भाइरस सङ्क्रमण फैलिएपछि नगरका क्वारेन्टिन र आइसोलेसनमा स्वाथ्यकर्मी खटाउँदा स्वास्थ्य केन्द्र सञ्चालनमा आउन सकेको थिएन, अहिले बिस्तारै सेवा दिन थालिसकेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्