सशस्त्र प्रहरी बललाई पाँच कट्ठा जग्गा दान



कञ्चनपुर : महाकाली नगरपालिका–१० का खडकबहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान गरेका छन् । उनले सुन्दरनगर र गुरुङ टोल बीचमा रहेको पाँच कट्ठा जग्गा प्रहरीलाई बोर्डर आउट पोष्ट राख्न दान गरेका हुन् ।

सशस्त्र प्रहरीको आग्रहअनुसार सीमा सुरक्षामा सहयोग पुगाउन जग्गा दान गरिएको उनले बताए । “सशस्त्र प्रहरी यहाँ सीमा सुरक्षाका लागि आएको छ । उनीहरुलाई सहयोग गर्न हामी सबैको दायित्व हो”, समाजसेवी बस्नेतले भने, “सशस्त्रलाई भवन लगायतका संरचना बनाउन सहज होस् भनेर जग्गा सहयोग गरेका छौँ ।”

उनले महाकाली नगरपालिका प्रमुख वीरबहादुर सुनार, नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१० का अध्यक्ष नरबहादुर सुनार लगायतको रोहवरमा जग्गाको मञ्जुरिनामा दिएका हुन् । दोधारा चाँदनी क्षेत्रमा बस्दै आएको बस्नेत परिवारले यसअघि पनि महाकाली– १० कै हरिओम आधारभूत विद्यालयलाई चार कट्ठा जग्गा दान गरेका थिए । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीलाई जग्गा सहयोग गर्न बस्नेत परिवारसहित दोधारा चाँदनीका सबै बासिन्दाका लागि गर्वको विषय भएको नगर प्रमुख सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्